१२ मंसिर २०८३, शनिबार

लोकतान्त्रिक र वाम गठबन्धन दुवैको बहुमत आउँदैन : उपेन्द्र यादव

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् ।

लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरू तालमेलका लागि तयार रहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहस काक्रममा अध्यक्ष यादवले मधेशमा राजपा–फोरमसँग तालमेल गर्ने हो भने कांग्रेसलाई नै फाइदा हुने बताए । मधेशका कांग्रेस निकै कमजोर भइसकेको दाबी गर्दै यादवले कांग्रेसले वुद्धि पु¥याएर तालमेल गर्न तयार भयो भने अझै पनि उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न मिल्ने बताए ।

कांग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो । यादवको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका सकलदेव सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए । तर, ढिला भएका कारण फिर्ता हुन सकेको थिएन ।

यादवले सप्तरी क्षेत्र नम्बर २ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । आफ्ना प्रतिस्पर्धीहरू गैरराजनीतिक व्यक्ति भएको तर्क गर्दै यादवले बोल्न समेत नजान्ने नेताले आफूलाई हराउन नसक्ने बताए ।

यता उपेन्द्रका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार उमेश यादवले भने उपेन्द्रले विगतको जनताको हितमा कुनै पनि काम नगरेकाले यसपटक जनताले आफूलाई जिताउने दाबी गरेका छन् ।

आफूले विकास निर्माणका धेरै काम गरेको बताउँदै उमेशले चुनावजितेपछि मधेशीजनताको हितहुने गरी संविधान संशोधनकालागि लडाई गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो पार्टी एमाले संविधान संशोधनकालागितयार नभएपनि आफू अघि बढ्ने उमेशको भनाई छ ।

यस्तै अर्का उम्मेदवार जयप्रकाश ठाकुरले पनि त्यस क्षेत्रबाट आफूले चुनाव जित्ने दाबी गरेका छन् । अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारीलाई स्वतन्त्र मानिएको छ ।

मधेशमा राजपा–फोरमको गठबन्धनले बहुमत ल्याउने दाबी यादवले गरेका छन् । दुई दल मिलेर चुनाव जित्ने र प्रदेशमा सरकार गठन गर्ने जिकिर यादवको छ । आफूहरूको मधेशमा सरकार निर्माण गर्ने अभियानलाई कसैले रोक्न नसक्ने यादवको भनाई छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका यादवले अब मधेशमा सत्ताको साँचो आफूहरूको हातमा आउने दाबी गरे ।

चुनावमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैको बहुमत आउन नसक्ने यादवको तर्क छ । देउवा नेतृत्वको सरकार कमजोर भएको आरोप समेत यादवले लगाएका छन् ।