१२ मंसिर २०८३, शनिबार

ललितपुर- २ मा सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सञ्चिता घिमिरे

ललितपुर, १ मंसिर । लोकतान्त्रिक गठबन्धन र वामपन्थी गठबन्धन दुवैका उम्मेदवार झण्डै उस्तै उस्तै चुनाबी एजेण्डा लिएर मतदातासम्म जान थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नं २ मा उम्मेदवार घरदैलो कार्यक्रममार्फत मतदाताका घर–आँगनमा जान थालेका छन् । सडक विस्तार, खानेपानीको व्यवस्थापन, सम्पदा संरक्षण, भूकम्पपछिको पुनःनिर्माण र नयाँ बनेका नगरपालिकाको व्यवस्थापनका विषयलाई उम्मेदवारले मुख्य मुद्दा बनाएका छन् ।

गत सातादेखि यस क्षेत्रमा चुनावी रौनक बढेको छ । घरहरु कुनै न कुनै दलका झण्डाले भरिन थालेका छन् । उम्मेदवारहरु घरदैलो कार्यक्रम र आफ्ना कार्यकर्तासँगको भेटमा व्यस्त छन् । दलका कार्यालय, सम्पर्क कार्यालयदेखि चिया पसलसम्म चुनावमय बनेको छ । यसपटक ठूला दलले यसअघिका निर्वाचनमा यस क्षेत्रमा प्रतिनिधित्व गरिसकेकै व्यक्तिलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट चन्द्र महर्जन उम्मेदवार बन्नुभएको छ । उहाँ संविधानसभा–२ मा यस क्षेत्रका सभासद् हुनुहुन्थ्यो । प्रतिनिधिसभामा नेकपा (एमाले)का तर्फबाट कृष्णलाल महर्जन उम्मेदवार हनुहुन्छ । उहाँ २०५६ सालको आम निर्वाचनमा यस क्षेत्रबाट विजयी हुनुहुन्थ्यो ।

प्रदेशसभातर्फ भने नेपाली काँग्रेसले (क) मा पवनविक्रम थापा र प्रदेश –(ख) मा प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)का माधवप्रसाद पौडेल प्रदेशसभा (क)मा उम्मेदवार बन्नुभएको छ । एमालेले प्रदेश सभा (ख)मा ज्ञानेन्द्र शाक्यलाई उम्मेदवार बनाएको छ ।

विवेकशील साझा पार्टीका तर्फबाट अमिरराज महर्जन प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुहुन्छ । साझा विवेकशील पार्टीकै तर्फबाट यस क्षेत्रमा प्रदेश सभामा (क) मा प्रवीन महर्जन र (ख) मा ज्ञानबहादुर शाक्य उम्मेदवार हुनुहुन्छ ।

महालक्ष्मी नगरपालिकाका १० वटै वडा र महानगरपालिकाका नौवटा गरेर यस क्षेत्रमा १९ वटा वडा रहेका छन् । प्रदेशसभा (क)मा महालक्ष्मी नगरपालिकाको १० वटा वडा र महानगरपालिाकाको एउटा गरेर ११ वटा वडा पर्छ । (ख) मा भने महानगरपालिकाको आठवटा वडा पर्दछन् ।

नेका र नेकपा (एमाले)का उम्मेदवार दुवैले यस क्षेत्रमा विजय र पराजय दुवै भोगिसक्नु भएको छ । २०५६ सालको आमनिर्वाचनमा नेकपा (एमाले)का कृष्णलाल महर्जन विजयी हुँदा चन्द्र महर्जन नेकाका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा यस क्षेत्रमा नेकपा (माओवादी) का राजकाजी महर्जन विजयी हुँदा चन्द्र महर्जन नै उम्मेदवार हुनुहुन्थ्यो । नेकपा (एमाले)का उम्मेदवार सिद्धिलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

संविधानसभा–२ मा नेकाका चन्द्र महर्जन विजयी हुँदा एमालेका उम्मेदवार कृष्णलाल महर्जन हुनुहुन्थ्यो । चन्द्र महर्जन यस क्षेत्रमा पाँचौँपटक नेकाबाट उम्मेदवार हुनुहुन्छ । यसअघिका चार निर्वाचनमध्ये एउटामा विजयी हुनुभएको थियो । कृष्णलाल महर्जन २०५१ सालको निर्वाचन यता तेस्रोपटक उम्मेदवार हुनुहुन्छ । उहाँले यसअघि एकपटक विजयी हुनुभयो भने एकपटक हुनुभएन ।

यस क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवारहरु विगतका निर्वाचनकै आधारमा आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । नेका उम्मेदवार महर्जन संविधानसभा–२ मा जनताले गर्न पठाएको काम पूरा गरेकाले आफूलाई फेरि मतदाताको मत मिल्ने विश्वास गर्नुहुन्छ । नेकपा (एमाले)का उम्मेदवार महर्जन महालक्ष्मी नगरपालिका र महानगरपालिकामा स्थानीय निकायको निर्वाचनमा एमाले र माओवादी केन्द्रले पाएको मतकै आधारमा आफूले जित्ने दाबी गरिरहनुभएको छ ।

आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा (एमाले)का उम्मेदवारसँग भएपनि आफू ठूलो अन्तरले विजयी हुने नेकाका उम्मेदवार महर्जनको दाबी छ । यस क्षेत्रका मतदाताले आफूलाई संविधान लेख्न पठाएकामा त्यो पूरा गरेको र चार वर्षमा भएका विकासका आधारमा आफूले मत पाउने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, “एकातिर स्रोतमा पानी खेर गइरहेको छ भने अर्कातिर यहाँका बासिन्दाले पानी खान पाएका छैनन्, यसको व्यवस्थापन गर्न लाग्नेछु ।” आफूले इमाडोलबाट लामाटार हुँदै काभ्रे जोड्ने बाटोका लागि विगतबाट नै लागिपरेको उहाँले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त भएका व्यक्तिगत घर र सम्पदाको संरक्षणमा लाग्ने उहाँको जोड छ ।

एमालेका उम्मेदवार महर्जन संविधानसभा–२ मा वामपन्थी शक्ति फुटेर गएकाले जनताले सजाय दिएको बताउनुहुन्छ । वामपन्थी शक्ति अहिले एक ठाउँमा हुँदा यस क्षेत्रका मतदाता खुशी छन् । उहाँ भन्नुहुन्छ, “अहिले जनताका घर–आँगनमा पुग्दा वामपन्थी एक भएर आएकाले वामपन्थीलाई नै मत दिने बताइरहेका छन् ।” आफूले २०५६ सालमा यस क्षेत्रका प्रतिनिधिका रुपमा उठाएका विकासका मुद्दा अहिले पनि निरन्तरता दिने उहाँ बताउनुहुन्छ । बाटो विस्तार, खानेपानीको व्यवस्थापन, लाँकुरी भञ्ज्याङलाई पर्यटकीयस्थलका रुपमा विकास, क्षतिग्रस्त सम्पदाको संरक्षण उहाँको योजनामा पर्छन् । सरकार परिवर्तन हुँदा जनताको विकासको चाहना अलपत्र परेकाले पाँचवर्षे स्थायी सरकार जनताले चाहेको उहाँ बताउनुहुन्छ ।

विवेकशील साझा पार्टीका उम्मेदवार अमिरराज महर्जन जनतालाई परिवर्तनको महसुश गराउन आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । यस क्षेत्रमा प्रतिनिधिले विकास गराउनेभन्दा पनि जनतामा मेरो ठाउँको विकास गर्न आफैँ लाग्नुपर्छ भन्ने भावना जगाउन खाँचो छ । यस क्षेत्रका जनताले जित्ने र हार्ने दुवै फर्किएर नआएको गुनासो गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “हामी निर्वाचनका समयमा जुन समूह परिचालन हुन्छ, निर्वाचनपछि पनि जनतासँग नियमित सम्पर्कमा हुनेछ ।”

क्षेत्र नं २ मा जम्मा ३९ मतदानस्थलमा ८८ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभामा ११ राजनीतिक दलका तर्फबाट र दुईजना स्वतन्त्र गरेर १३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ (क)मा नौवटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा भने नौवटा राजनीतिक दलका तर्फबाट र दुईजना स्वतन्त्र गरेर ११ जनाले उम्मेदवारी दिएको कार्यालयकी प्रमुख सीता साम्बाले बताउनुभयो । यस क्षेत्रमा जम्मा मतदाता सङ्ख्या ७५ हजार ९८१ रहेको छ । – रासस