काठमाडौँ, २९ कात्तिक । पोखरा राइनोजले बुधबार पत्रकारहरुमाझ आफ्नो आधिकरी लागो र जर्सी सार्वजनिक गरेको छ । जगदम्बा स्पोर्टस (जेफोर स्पोर्टस) प्रालिले आगामी एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको लागि पोखरा राइनोज क्रिकेट टोली ल्याएको हो ।
क्रिकेट टोलीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका पुराना खेलाडी शक्ति गौचनले गर्नेछन् । गौचनलाई नै टोलीको कप्तानीको जिम्मा दिइएको बुधबार नै पत्रकारहरुलाई जानकारी दिइएको छ । शक्तिले कप्तानी गर्ने सो टोलीमा विनोद भण्डारी, सुशन भारी, राजेश पुलामी मगर, बिक्रम सोब, सौरभ खनाल, नुरधोज सेन, किशोर महतो, सन्तोष भट्ट, सुनिल धमला तथा बिपिन खत्रीलगायतका खेलाडीहरु रहनेछन् ।
जेफोर स्पोर्टस्ले आगामी शनिबार ‘ट्यालेण्ट हण्ट’ को आयोजना गरी थप खेलाडीहरु छनौट गर्नेछ । ‘ट्यालेण्ट हण्ट’बाट सात जनालाई छनौट गरिनेछ । इपीएलले विशेष गरी नयाँ क्षमतावान् खेलाडीलाई उजागर गर्ने शंकर ग्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए । यसले नयाँ खेलाडीको विकासमा प्राथमिकता दिने उनले बताए ।
छनौट भएकाहरुमध्येबाट क्याम्पमार्फत उत्कृष्टको छनौट हुने कप्तान शक्ति गौचनले बताए । प्रतियोगिताको एक÷दुई दिन अघि सबै खेलाडीहरुको अन्तिम नाम सार्वजनिक गरिने उनले बताए । हाल सबैतिर अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडीलाई मात्रै प्राथमिकता दिन थालिएको बताउँदै कप्तान गौचनले यस प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई पनि ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा राइनोजले समग्र पोखराको प्रतिनिधित्व गर्ने बताए । पोखरा प्राकृतिक पर्यटनको लागि विश्वमै प्रख्यात भइरहँदा पोखरालाई खेलकुद पर्यटनको पनि विकास गर्ने योजना अघि सारिएको उनले बताए । भविष्यमा पोखरामा खलकुद एकेडेमीका साथसाथै खेलकुद विश्व विद्यालयको पनि स्थापना हुने आशा दिलाए ।
















प्रतिक्रिया