काठमाडौं, २९ कात्तिक । दुई ठूला कम्युनिष्ट पार्टीको वाम गठबन्धनका शीर्ष नेताहरू तीन ओटा हेलिकोप्टर लिएर चुनावी सभाका लागि बुधबार गोर्खा जान लागेका छन् ।
गठबन्धनका शीर्ष नेता केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले गोर्खामा कम्तिमा चार ओटा चुनावी सभालाई सम्वोधन गर्नेछन् ।
पहिलो सभा बिहान एघार बजे क्षेत्र नं. २ मा पर्ने भच्चेकमा हुनेछ । क्षेत्र नं. दुईमा प्रतिनिधि सभाका लागि कम्युनिष्ट गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् ।
उनीहरूबीचको प्रतिस्पर्धा पहिलो चरणको निर्वाचनको सर्वाधिक चसोको प्रतिस्पर्धा भएको छ ।
भच्चेकको कार्यक्रम सकेपछि गठबन्धनका शीर्ष नेताहरू हेलिकोप्टरबाटै पालुङटार पुग्नेछन् । डा भट्टराईको गृहनगर पालुङटारमा दिउसो १२ बजेपछि चुनावी सभा गर्ने तय भएको छ ।
कम्युनिष्ट गठबन्धनले तेस्रो सभा दिउँसो २ बजे क्षेत्र नं. एकको भैरुघ बतासेमा गर्नेछ । चौथो सभा तीन बजे आरुङघाट बजारमा गर्ने तय गरेको छ ।
आरुङघाटमा रहेको भीम विद्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अध्यापन गराएका थिए । क्षेत्र नं. एकका लागि कांग्रेसका उम्मेदवार चिनकाजी श्रेष्ठ प्रचण्डका सहकर्मी थिए । आरुङघाट कांग्रेस उम्मेदबार श्रेष्ठको गृहनगर हो ।
लोकतन्त्रिक गठबन्धनका उम्मेदवारहद्वय डा.भट्टराई र चीनकाजी श्रेष्ठसँग कडा टक्कर हुने भएपछि गठबन्धनले चिनकाजी श्रेष्ठको गृहनगर आरुङघाट र डा भट्टराईको गृहनगर पालुङटारमा सभा गर्ने रणनीति बनाएको हो ।











प्रतिक्रिया