पोखरा (कास्की), २७ कात्तिक । नेपाली काँग्रेसले मुलुकका सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गरेको छ । आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न र काँग्रेसका चुनावी एजेन्डालाई जनतामाझ पु-याउन सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको हो ।
काँग्रेस नेता बालकृष्ण खाँडको नेतृत्वमा रहेको प्रचारप्रसार समिति र सोहि समितिअन्तर्गत काँग्रेसका युवा नेता गगन थापा नेतृत्वको प्रचारप्रसार समन्वय उपसमितिको मातहतमा मिडिया सेन्टर सञ्चालनमा ल्याईएको हो । नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को मिडिया सेन्टरको प्रमुखको जिम्मेवारी पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई दिएको छ । पराजुली नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
प्रदेश नम्बर ४ मा स्थापना गरिएको मिडिया सेन्टरको उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले निर्वाचनको क्रममा मिडियाको भूमिका अत्याधिक महत्वपूर्ण हुने बताए । उनले यो बेलामा देशलाई नयाँ संविधान दिएको नेपाली काँग्रेसलाई अब सम्बृद्धिका लागि सघाउन मिडियासँग आग्रह समेत गरेका छन् । उनले यो समयमा देशलाई जोगाउनका लागि लोकतन्त्रको पक्षमा वकालत गर्न मिडियालाई आग्रह गरे ।
साथै उनले बेलायती प्रधानमन्त्रीको चुनावको उदाहरण दिँदै मिडियामा नेताहरुले पनि प्रचारका लागि लगानी गर्न आवश्यक रहेको सुझाए । ‘मिडियामा गरिने प्रचारले धेरै अर्थ राख्छ । आजकल पुराना र पत्यारलाग्दा भाषणले जनतालाई आकर्षण गर्न सकिन्न ।’ उनले भने ।











प्रतिक्रिया