काठमाडौँ, २७ कात्तिक । टिभी टुडेका संवाददाता कान्ता गिरी र क्यामेरा पर्सन दर्शन खत्रीमाथि दुर्व्यवहार गरिएको छ । उनीलाई समाचार संकलनका क्रममा ‘इन्ष्टिच्यूट अफ मेनेजमेन्ट स्टडिज’ का सञ्चालक भावना राणा र त्यहाँका कर्मचारीले दुर्व्यवहार गरेका हुन् । उनीहरुलाई प्रहरी लगाएर गिरफ्तार समेत गरिएको थियो ।
पत्रकारमाथि गरिएको दुर्व्यवहार तथा प्रहरीको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाप्रति आपत्ति जनाएको छ । समाचार संकलनका लागि अग्रिम जानकारी गराएर पुगेका पत्रकारद्वय गिरी र खत्रीलाई सञ्चालक राणासहितका कर्मचारीले गालीगलौज गर्नुका साथै क्यामेरा र मोबाइल नियन्त्रणमा लिई हातापातको प्रयास गरेको बताइएको छ । सोही क्रममा प्रहरीले पत्रकारद्वयलाई गिरफ्तार गरी सिंहदरबार वृत्तमा करिव चार घण्टा नियन्त्रणमा राखेको थियो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा आइतबार साँझ पत्रकारद्वयलाई मुक्त गरिएको थियो ।
उक्त शैक्षिक संस्थामा पूर्व जानकारी गराएर समाचार संकलनका लागि गएका पत्रकारमाथि दुर्व्यवहार गर्नु र प्रहरीले नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाधरूपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक र कानुनी अधिकार कुण्ठित गर्ने यस प्रकारको घटनाको महासंघ विरोध र भर्त्सना गर्दछ । महासंघ दोषीमाथि कानुनी कारबाही गर्न र प्रेस स्वतन्त्रताविरोधी घटना दोहोरिन नदिन सम्बन्धित पक्षसँग माग गर्दछ ।’












प्रतिक्रिया