२ कार्तिक २०८३, सोमबार

कुनै पनि शक्तिले काँग्रेसलाई हराउन सक्दैनः उपप्रम गच्छदार

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २७ कात्तिक । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली काँग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले काँग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन् । सुनसरीको इटहरीमा काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरको आज उद्घाटन समारोहपछि बोल्दै उपप्रधानमन्त्री गच्छदारले बाम गठबन्धन अर्थात् कम्युनिष्टको मिलनले लोकतन्त्र र नेपाली जनताको भाग्य र भविष्यका लागि बारम्बार आहुति दिँदै आएको काँग्रेसलाई हानी नपुग्ने दाबीसमेत गरे ।

उपप्रधानमन्त्री गच्छदारले देशलाई समृद्ध बनाउनका लागि काँग्रेसले अवलम्बन गरेको स्वतन्त्र आर्थिक नीति र विकासप्रति इमान्दार भएर नेपाली जनतालाई सक्षम तुल्याउन गरेको प्रयत्न नै काँग्रेसले जित्ने एकमात्र मूल कारण रहेको पनि स्पष्ट पारे । उनले नेपालमा प्रजातन्त्र आएपछि वामपन्थीको नेतृत्वमा पनि सरकार बनेको दृष्टान्त प्रस्तुत गर्दै काँग्रेस नेतृत्वका सरकारले गरेको शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, भौतिक पूर्वाधार र जलविद्युत योजना उदाहरणीय रहेको पनि बताए ।

सोही प्रसंगमा उपप्रधानमन्त्री गच्छदारले महामानव बिपी कोइरालाले कल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न धेरै प्रयत्न गरेको र त्यसको उदाहरणस्वरुप विकास योजना गरिबको विकासलाई लक्षित गरेर ल्याएको कुरा भुल्न नहुने बताउँदै उनले राजधानी जोड्ने छोटो दूरीको सिन्धुली सडकदेखि मध्यपहाडी क्षेत्र हुँदै राजधानी काठमाडौँ जोड्न तयार हुँदै गरेको मध्यपहाडी सडक आदि पनि त्यसैका ज्वलन्त उदाहरण भएको बताए । नेता गच्छदारले देशको आमूल परिवर्तन गर्नेगरी काँग्रेसले देशभरमा साना ठूला गरी २८४ भन्दा बढी पुल निर्माण थालेको तथा कतिपय बनिसकेको उदाहरण दिँदै मेची पुल पनि काँग्रेसकै सक्रियतामा निर्माणको अन्तिम चरणमा रहेको महत्वपूर्ण उदाहरण रहेको बताए ।

उपप्रधानमन्त्री गच्छदारले काँग्रेस मिडिया प्रयोग र प्रचार अभियानमा कमजोर भएको स्वीकार गर्दै देशमा प्रजातन्त्र आए यता काँग्रेसले देशको आमूल परिवर्तनका लागि थुप्रै विकास निर्माण एवं परिवर्तनका कार्य गरेको र महत्वपूर्ण कार्य ओझेलमा पर्ने गरेकाले अब आम सञ्चारकर्मीले इमान्दारितापूर्वक प्रचारमा जोड दिन आग्रहसमेत गरे ।

उनले इटहरी र यस आसपासको पीडाका विषय बन्दै आएको सेहेरा एवं टेङ्ग्रा खोलाको डुबान एवं कटान नियन्त्रणमा निर्वाचनपछि बन्ने लोकतन्त्र पक्षधर काँग्रेस नेतृत्वको सरकारले पूरा गर्नेतर्फ ठोकुवा गरे । साथै उनले इटहरीलाई प्रदेश १ को राजधानी बनाउनका लागि आफूले भरमग्दुर प्रयास गर्ने विश्वाससमेत दिलाए । –रासस