११ मंसिर २०८३, शुक्रबार

तीन महिना भित्र एउटै कम्युनिष्ट पार्टीः खनाल

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २५ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा चितवन क्षेत्र नम्बर १ प्रदेश (ख) का उम्मेदवार कृष्णप्रसाद खनालले तीन महिना भित्र नेपालमा एउटा मात्र कम्यूनिष्ट पार्टी हुने बताएका छन । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत शनिबार रत्ननगर–१५ मा प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा उनले एमाले र माओवादी केन्द्र मात्र नभई नेपालमा रहेका अन्य साना कम्युनिष्ट पार्टीहरुलाई पनि एकीकरणको मुलधारमा ल्याएर तीन महिना भित्र नेपालमा एउटा मात्र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने स्पष्ट पारे ।

‘अब नेपालमा पुच्छर झुण्डिएका कुनै पनि पार्टीहरु हुनेछैनन्’ उनले भने, ‘अब एउटै कम्युनिष्ट पार्टी हुन्छ, त्यसले मुलुकको नेतृत्व गर्छ ।’ उनले अहिले भएका एमाले र माओवादीको चुनावी तालमेललाई देश निर्माणका लागि गरिएको रचनात्मक कामको संज्ञा दिए । कार्यक्रममा माओवादी केन्द्रकी रत्ननगर ईज्चार्ज तथा समानुपातिक उम्मेदवार कन्चन खनालले बामपन्थीहरुको बहुमतको सरकार बनाउन दुई कम्युनिष्ट पार्टी बीच चुनाबी एकता भएको बताईन ।

‘अस्थिर सरकारका कारण मुलुकले विकासको गति लिन सकेन’ उनले भनिन्, ‘अब कम्यूनिष्टहरुलाई दुई तिहाई जनमत दिएर बलिया सरकार बनाउने अबसर दिनुहोस ।’

वडा नम्बर १५ का निर्वाचन परिचालक कमिटीका संयोजक आशिष तामाङको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका जिल्ला ईज्चार्ज इश्वरी प्रसाद भट्टराई, केन्द्रीय सदस्य संगिता भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यालय उद्घाटन लगतै चितवन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे, प्रदेश (ख) का उम्मेदवार कृष्ण प्रसाद खनाल र समानुपातिक उम्मेदवार कन्चन खनाल जनताको घरघरमा पुगेर भोट मागेका थिए ।