
कपिलवस्तु, २५ कात्तिक । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा सरकारी सवारी साधनको प्रयोग गरेका छन् । नेपाली काँग्रेसबाट बुद्धभूमी नगरपालिका वडा नं. ८ को वडा सदस्य हुदै जिल्ला प्रमुखमा निर्वाचित खनालले अहिले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सरकारी श्रोत साधनको चरम दुरुपयोग गरेका हुन् ।
शनिबार मात्रै उनले हहिरपुरको पचिगवा भन्ने स्थानमा नेपाली काँग्रेसद्वारा आयोजित वडा भेलामा प्रमुख अतिथि बनेर निर्वाचनमा होमिन आह्वाहन गर्दै थिए । जिल्ला समन्वय समितिको लु १ झ ३४२ नम्बरको स्कार्पियो गाडी लिएर खनाल दिनभरी नै काँग्रेसको निर्वाचन अभियानमा हिँडेको त्यहाँका स्थानीयहरुले जानकारी दिएका छन् । जिससका चालक शंकर पाण्डेले चलाएको उक्त सरकारी गाडी पचिगवा गाउँमा बिहान ११ बजेदेखि १ बजेसम्म कार्यक्रम स्थलमै रोकेर राखिएको थियो ।
निर्वाचन आचारसंहिताको ठाडो उलङ्घन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खनाल पार्टी प्रचारमा हिँडेपछि यतिखेर प्रतिपक्षी तथा मधेशवादी दलले चर्को विरोध गरेका छन् । समन्वय समितिले आफ्नो मर्यादा बिर्सेको भन्दै बाम गठबन्धनका नेता पिताम्बर खनालले आपत्ति जनाएका छन् । राज्यको सम्पत्ति लिएर पार्टीको प्रचारमा लाग्नु आचारसंहिता विपरीत भएको बताउँदै उनले यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने बताए ।
जिल्ला निर्वाचन कार्यालयले केही दिनअघि मात्रै स्थानीय तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आचारसंहिता सम्बन्धी १ दिने अभिमुखीकरण समेत दिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबार मात्रै नभई कुनै पनि दिन कुनै पनि पार्टीको प्रचारमा वा सहयोगमा सरकारी साधनको प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यसबारे उजुरी परेमा वा कार्यालयले यसबारे जानकारी पाएमा कारवाही गर्न सक्ने जनाएको छ । मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले यसबारे उजुरी परे छानबिन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।
जिसस प्रमुख नारायण प्रसाद खनालले आफ्नो घर त्यतै भएको कारणले एउटा कार्यक्रममा जाँदा बीचमा रोकेर भेटघाट मात्र गरेको भन्दै यसबारे बोल्नै चाहेनन् । तर शनिबारको दिन पनि जिससको सवारी साधन प्रशासनको अनुमति बिना चलाउनु पनि गैरकानूनी भएको निजामती कर्मचारीहरु बताउँछन् । जिल्ला प्रशासन कार्यालयले भने कात्तिक २५ गते शनिबारको लागि जिससको उक्त गाडी चलाउन कुनै स्वीकृति नलिएको जानकारी दिएको छ ।











प्रतिक्रिया