–मुकुन्द सुवेदी
बर्दिया, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको विकास र समृद्धिका लागि बाम गठबन्धनको आवश्यकता रहेको बताएका छन् । गुलरिया नगरपालिकाको वडा नम्बर ११ र १२ मा आयोजित वडास्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउनका लागि गठबन्धन आवश्यक रहेको हुँदा बाम गठबन्धनलाई जनताले मत दिनु पर्ने बताएका हुन् ।
पटक पटक बहुमतसहित सरकारमा पुगे पनि काँग्रेसले कुनै उदाहरणीय काम गर्न नसकेको आरोप लगाउँदै अब दुईतिहाई बहुमतको सरकार बनाउने बाम गठबन्धनको पालो रहेको ठोकुवा गरे । उनले भने, ‘सधँैभरी मुलुकमा देखिएको अस्थिर र अन्यौलताको राजनीति बाम गठबन्धनले तोड्दै स्थायी बातावरण बनाउन लाग्दैछ ।’
कम्युनिष्टहरु एक भई अधिनायकवाद लाद्न खोजेको भ्रम फैलाउन काँग्रेस लागि परेको भन्दै नेता गौतमले त्यस तर्फ चनाखो रहन सबैमा आग्रह गरे । बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार समेत रहेका उपाध्यक्ष गौतमले बामपन्थीको स्थायी सरकारले नै जनताका हर समस्याको समाधान गर्ने दाबी गरे । चुनावी सभालाई बर्दिया निर्वाचन क्षेत्र नम्बर १ (क)का प्रदेश सभा उमेदवार तिलक शर्मा हिमाललगायतले संबोधन गरेका थिए ।











प्रतिक्रिया