पर्वत, २५ कात्तिक । हरेक स्थानमा गत स्थानीय तहको चुनावलाई लिएर आगामी चुवावमा पार्टीहरुले पाउने भोटको आकलन गर्ने गरिएको छ । चुनावले देश छपक्कै छोपेका बेला चुनाव कस्ले जित्ला भन्ने तर्क वितर्क नेतादेखि जनतासम्म नै छ ।
यस्तोमा पर्वतमा पनि चुनावी चहलपहल सुरु भएको छ । पर्वतका राजनीतिक दलहरु मतदाताहरुलाई आफ्नो प्रभाव पार्नको लागि आक्रमक रुपमा प्रचार गरिरहेका छन् । पर्वतमा विशेष गरी एमाले–माओवादीको बाम गठबन्धन र काँग्रेस लगायतका अन्य दलहरुको लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
पर्वतमा यसअघिका तीवटा संसदीय चुनावमा लगातार विजयी भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी उम्मेदवार बनेका छन् । उनलाई हराउने उद्देश्यका साथ यसपाली बाम गठबन्धनबाट नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष पदम गिरी मैदानमा उत्रिएका छन् । यसअघिका चुनावमा काँग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै प्रतिष्पर्धा गर्दा काँग्रेसले जित्ने गरेको थियो । तर यसपाली बाम गठबन्धनका कारण काँग्रेसले सहज जित निकाल्ने अवस्था छैन । स्थानीय चुनावको परिणामका आधारमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मतान्तर ७ हजार ७ सयको रहेकाले पनि जोशीको लागि अवस्था चुनौतिपूर्ण छ । त्यसमाथि एमाले उम्मेदवार गिरी युवा भएकाले पनि युवाको मन जित्ने आनुमान गरिएको छ ।
त्यस्तै प्रदेशसभा सदस्यमा ‘क’ तर्फ बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व सभापति नवराज गुरुङबीच प्रतिष्पर्धा हुँदैछ । यता ‘ख’ मा भने नेकपा एमाले पर्वतका पूर्व सचिव तथा पूर्व सांसद विकास लम्साल र नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र तिवारीबीच भीडन्त हुँदैछ ।











प्रतिक्रिया