विराटनगर, २५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार मेची अञ्चलका तीन जिल्लाका चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले आज दिनभरि आमसभाहरूलाई सम्बोधन गर्नुअघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ ।
बिहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यसपछि ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस फुङलिङ नगरपालिका सभापति शिवकुमार गुरुङले जानकारी दिए ।
तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने बताइएको छ । सभापति देउवासँगै कांग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ ।
ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, ताप्लेजुङ प्रतिनिधिसभा उम्मेदवार केशवकुमार दाहाल, प्रदेश सभा उम्मेदवारहरू लीला बोखिम, दीपेन्द्रकुमार सेन्दाङ, समानुपातिक उम्मेदवार प्रतापप्रकाश हाङ्गाम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एक हप्ता अगाडि एमालेका अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । ओलीले एमालेका उम्मेदवार योशेश भट्टराईलाई निर्वाचित गराउन ताप्लेजुङका मतदाताहरूसँग आग्रह गरेका थिए ।











प्रतिक्रिया