चितवन, २३ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब काँग्रेसको फेरो समाएर सत्तामा नजाने बताएका छन् । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब फेरी काँग्रेससँग सहकार्य नहुने बताएका हुन् ।
चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने भन्दै काँग्रेसले लोभ देखाएको भएपनि आफूले त्यसलाई अस्वीकार गरेको उनले बताए । चुनावपछि सत्ताको डाडुपन्यू कम्युनिष्टहरुकै हातमा आउने भएकाले नै एमाले र माओवादीबीच एकता गरिएको प्रचण्डले बताए । एमाले काँग्रेससँग मिले पनि अथवा माओवादी काँग्रेससँग मिले पनि फाइदा भने काँग्रेसलाई मात्रै हुने बताउँदै उनले त्यसरी समाजवाद ल्याउन असम्भव रहेको बताए ।
एमालेसँग पार्टी एकता गरेर सबैलाई सरप्राइज दिने उनले बताए । ‘दशैं मनाइरहेका नेपालीलाई एमाले र माओवादीको बाम तालमेलको घोषणाले जसरी सरप्राइज लागेको थियो’ चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका प्रचण्डले भने, ‘त्यसैगरी नै चुनाव लगत्तै पार्टी एकताको घोषणा गरेर अर्को सरप्राइज दिनेछौँ ।’ छिट्टै पार्टी एकता गर्नको लागि एमाले अध्यक्ष केपी ओलीसँग समझदारी भइसकेको उनले बताए ।
‘यदि निर्वाचन १० दिन मात्रै पनि पछि सरेको भए हामीले पार्टी एकताको घोषणा गरिहाल्ने योजना बनाएका थियौँ । एमाले र माओवादीभित्र विचारधारा, कार्यगत र टिकट वितरणको असन्तुष्टिलाई ‘क्यास’ गरेर बाम गठवन्धन र पार्टी एकतालाई भत्काउन खोजिएको छ । त्यसविरुद्ध नेतृत्व र आम कार्यकर्ता पंक्ति सचेत हुनुपर्छ’, उनले भने ।











प्रतिक्रिया