–शिशिर सिंखडा
रत्ननगर (चितवन), २३ कात्तिक । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि सुरु हुने ‘पूर्वी चितवन महोत्सव’को तयारी पुरा भएको छ । पूर्वी चितवनको आर्थिक विकास र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले रत्ननगर जेसीजले आयोजना गरेको सो महोत्सवको तयारी सकिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सवको स्टल निर्माणको र अन्य व्यवस्थापनका काम सकिएको उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण टाँडी नजिकैको खाली जग्गामा हुने महोत्सवको उद्घाटन चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले गर्ने छन् । उद्घाटन गर्नुअघि रत्ननगरमा विहान शोभायात्रा निकालिने छ । महोत्सवको स्टल बुकिङ सकिएको संयोजक श्रेष्ठले जनाकारी दिए । महोत्सवमा २२७ वटा स्टल रहने छन् । महोत्सव विवाह विशेष भएकाले ५० वटा विवाह र जनचेतना तथा १७७ वटा व्यवसायिक स्टल रहने छ । महोत्सवमा बाल उद्यानसँगै राष्ट्रिय तथा स्थानीय औद्योगिक एवम् व्यापारिक प्रतिष्ठान र जनचेतना तथा विवाहका स्टलहरु रहने छन । कृषिको प्रबद्र्धनको लागि महोत्सव परिसरमै माछाको पोखरी निर्माण गरी जिउँदो माछा बिक्री गर्ने व्यवस्था मिलाईएको छ ।
स्थानीय स्तरमा आर्थिक विकास गर्ने, स्थानीय उत्पादनको पहिचान गरी प्रर्बद्धा गर्ने, व्यवसायिक अबसरको पहिचान र विकास गर्न, अस्तव्यस्त अबस्थामा रहेको टाँडी बजारको व्यवसायिक चहलपहलमा बृद्धि गर्न, विवाह संस्कृति र समारोहमा देखिएका विकृतिलाई निरुन्साहित गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव विवाह विशेष भएकाले महोत्सव परिसरमा विवाह मण्डव निर्माण गर्ने, विवाहको ५० औं बर्षगाठ पुरा भएका पूर्वी चितवनका विशिष्ट जोडीलाई आर्दश जोडीका रुपमा सम्मानगर्ने लगायतकाकार्यक्रम समावेस गरिएको रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए । महोत्सवअन्तर्गत बालविवाह र यसको रोकथामको विषयमा बक्तृत्वकला, व्यूटीपार्लर, रत्यौली र खुल्ला मेहन्दी लगाउने प्रतियोगिता गरिने छ । त्यसैगरी दुलही श्रृगार, जिल्ला स्तरीय तेक्वान्दो, डारी तान्ने र विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत महोत्सव अवधि भर हुने छन् ।
पर्यटन प्रर्बद्धनको लागी बिसहजारी ताल अबलोकन, कुमरोज वनमा जीप सफारी र २०७४ सालमा विवाह गरेका नवविवाहित जोडीलाई सौराहाका निश्चित होटलमा खाना र आवासमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको जेसीजका अध्यक्ष आचार्यले बताए । १० दिनसम्म चल्ने सो महोत्सवमा राष्ट्रिय कलाकारहरु इन्दिरा जोशी, मनोज गजुरेल, भूमिका गिरी, पशुपति शर्मा, शितल शर्मा, रोमा न्यौपाने, शिव परियार, सुजता पाण्डे, ज्योति मगर, दिनेश काप्mले, दुर्गेश थापा, विनीता साहीको प्रस्तुती रहने छ ।















प्रतिक्रिया