काठमाडौं, २३ कात्तिक । आगामी मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले चुनावी प्रचारलाई ‘आक्रामक’ बनाएको छ । र, शीर्ष नेतालाई नै प्रचारका लागि मैदानमा उतार्दैछ ।
यसअन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका बनेको छ ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई दुबै नेताले सम्बोधन गर्नेछन् ।
प्रेस संयोजक अधिकारीका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा ओली र प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।















प्रतिक्रिया