ललितपुर, २२ कात्तिक । नेकपा एमालेका पोलिटव्युरो सदस्य रघुजी पन्तले बाम गठबन्धनले दुई तिहाई मत ल्याउने देखेपछि काँग्रेसको टाउको दुखेको बताएका छन् । बुधबार ललितपुर क्षेत्र नं २ को संयुक्त बाम गठबन्धनको संयुक्त कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पन्तले यस्तो बताएका हुन् । संयुक्त कार्यकर्ता भेलामा बोल्दै नेकपा माओवादीका पोलिटव्युरो सदस्य हरि दाहालले माओवादी केन्द्र र एमालेले संयुक्त रुपमा अवका सरकारको नेतृत्व गर्ने र त्यसले जनजिविकामा आमूल परिवर्तन ल्याएर समृद्ध मुलुक बनाउने चाहना पूरा हुने बताएका छन् ।
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य शिव कट्टेलले माओवादी एमालेको इमान्दार गठबन्धन यो मुलुकको समस्या समाधानको निकास भएको बताउँदै कुनै पनि पार्टी कार्यकर्ताले पार्टी र नीजि स्वार्थभन्दा माथि उठेर राष्ट्रिय आवश्यकतालाई साथ दिनुपर्ने बताएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य सुशिला नेपालले बाम गठबन्धन भएदेखि नै जनताले खुसी अनुभव गरिरहेको र त्यस्ता मतदाताको मत सुरक्षित तवरले भित्र्याउन पार्टी कार्यकर्तालाई परिचालित हुने निर्देशन गरेकी छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले ललितपुर बामपन्थीहरुको उद्गम भूमी भएकाले एकीकृत बाम गठबन्धनले मुलुकको काँचुली फेर्ने गरी परिणाम ल्याउनेमा दृढता व्यक्त गरेका छन् ।
गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका कृष्णलाल महर्जनले आर्थिक समृद्धिको एजेण्डा बाम गठबन्धनबाहेक अरुबाट पूरा नहुने दावी गरे । प्रदेश सभा सदस्य उम्मेदवार माधव पौडेलले ललितपुरको इतिहास, आफ्नो कामको अनुभव आदिले आफ्नो दावी मुख्यमन्त्रीमा समेत हुने बताएका छन् । प्रदेश सभाकै उम्मेदवार ज्ञानेन्द्र शाक्यले पाटनलाई अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाइने बताएका छन् ।
निर्वाचन परिचालन कमिटिका संयोजक चिरञ्जिवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रले क्षेत्रीय निर्वाचन परिचालन कमिटि तथा प्रदेश निर्वाचन परिचालन कमिटि गठन गरेको नेकपा माओवादी केन्द्रका नेता सरोज सिंले जानकारी गराएका छन् ।
बाम गठबन्धनको ३ हजार ३ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन
संयुक्त बाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि अलग अलग गरी ३ हजार ३ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । गठबन्धनले संयुक्त कार्यकर्ता भेला गरी निर्वाचन परिचालन कमिटिको घोषणा गरेको हो । बुधबार आयोजित कार्यकर्ता भेलामा नेकपा एमालेका चिरिञ्जिवी आचार्य संयोजक र नेकपा माओवादी केन्द्रका सरोज सिं डंगोल सहसंयोजक रहेको १ हजार १ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटि गठन गरिएको जानकारी गराइएको छ ।
यस्तै क्षेत्र नं २ को प्रदेश क तर्फ एमालेका केदार केसी संयोजक र माओवादी केन्द्रका श्यामकृष्ण महर्जन सहसंयोजक रहने गरी एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । यस्तै २ काहे ख तर्फ नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य संयोजक र नेकपा एमालेकी निरकेसरी श्रेष्ठ सहसंयोजक रहने गरी एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको जानकारी गराइएको छ । प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट कृष्णलाल महर्जन उम्मेदवार छन् भने प्रदेश सभा क तर्फ एमालेका माधव पौडेल र ख मा एमालेकै ज्ञानेन्द्र शाक्य उम्मेदवार रहेका छन् ।












प्रतिक्रिया