२ कार्तिक २०८३, सोमबार

राजधानीका सडकमा खाल्डा पुर्न र कालोपत्रे गर्न विद्यासुन्दरको टिम मैदानमा, यसरी हुँदैछ काम

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । काठमाडौं महानगरपालिकाले विकासका कामलाई तिव्रता दिन थालको छ । वर्षामा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने अडान राख्दै आएको महानगरपालिकाले वर्षा सकिएसँगै कामको गति अघि बढाउन थालेको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने, सडक निर्माण गर्ने जस्ता कामलाई पनि तिव्रता दिन थालेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । अहिले नरदेवी कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि मेयर शाक्यले जानकारी दिनुभयो ।

उहाँले यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने योजना रहेको पनि बताउनुभयो । ‘अब हिउँद लाग्यो खाल्डाखुल्डी पुर्ने, सडक निर्माण गर्ने जस्ता काम तीव्र गतिमा हुनेछन्।’

काठमाडौँ महानगरपालिकाले केही पनि गतिविधि नगरेको भन्ने आरोप आइरहेका बेला उहाँले अब कामको गतिलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । ‘विकासको गति अघि बढ्छ,’ उहाँले भन्नुभयो, ‘अब कसैले रोकेर पनि काम रोकिनेवाला छैन । महानगरका जनताको भावनाअनुरुप नै काम अघि बढ्छ ।’ उहाँले मेयर अब महानगरको विकासका लागि जनताको घरदैलोमा पुग्ने पनि दाबी गर्नुभयो ।

मेयर शाक्यले अब आफू दिनरात नभनी काममा खट्ने पनि दाबी गर्नुभयो । आज मात्रै पनि मेयर शाक्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर–३२ का विभिन्न स्थानमा भैरहेको सडक निर्माणको अवलोकन गर्नुभयो । उहाँले सेती ओपी मार्ग कामनपा–३२ मा भैरहेको सडक निर्माणबारे अवलोकन गर्दै इञ्जिनियहरुसँग पनि सडक निर्माणका बारेमा जानकारी लिनुभयो ।

त्यसैगरी उहाँले वडा–३२ कै मदन भण्डारी स्मृति वाटिकाको पनि अवलोकन गर्नुभयो । उहाँसगै एमालेका पोलिट्व्युरो सदस्य अग्नि खरेल, युवा तथा खेलकुद सचिव तथा सोही वडाका बासिन्दा महेश दाहाल, वडा अध्यक्षलगायत पनि मेयर शाक्यको साथमा हुनुहुन्थ्यो । मेयर शाक्यले अब महानगरविकासको काममा निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।