– झलक पाली
डोटी, १९ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल डोटीबाट प्रतिनिधी सभा समानुपातिक उम्मेदवार टिका नेपाली एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले डोटीको पार्टी कार्यालयमा आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर उनी लगाएत २१ जनाको टिम एमालेमा प्रवेश गरेको हो ।
उनलाई एमाले डोटीका ईञ्चार्ज तथा बाम गठबन्धनका प्रतिनिधी सभा उम्मेदवार प्रेम आलेमगर, एमाले डोटी अध्यक्ष तथा प्रदेश सभा निर्वाचन डोटी क्षेत्र नं. क का उम्मेदवार चक्र मल्ल लगायतका नेताहरुले टिका माला लगाएर स्वागत गरेका थिए ।
शुरुमा बाम गठबन्धनमा सहमत भएको नयाँ शक्ति नेपालले पछि आएर नेपाली काँग्रेससँग तालमेल गरेपछि आफु खिन्न भएर एमालेमा प्रवेश गरेको नेपालीले बताए ।
कार्यक्रममा संक्षिप्त बोल्दै उनले भने – “हिजोका दिनमा कम्युनिष्ट पृष्ठभूमिबाट आएका बाबुराम भट्टराई पछि आएर नेपाली काँग्रेससँग जोडिन पुगेपछि आफु एक इमानदार कम्युनिष्ट कार्यकर्ताका नाताले एमाले प्रवेश गरेको हुँ ।”
नयाँ शक्ति डोटीका सचिवालय सदस्य समेत रहेका नेता नेपाली नयाँ शक्तिमा जानु पूर्व एमालेको तत्कालिन बग्लेक गाविसको गाउँ कमिटि अध्यक्ष समेत थिए ।
बिचमा केहि आन्तरिक असमझदारीका कारण एमालेबाट बाहिरिएको भए पनि प्रतिनिधी सभा र प्रदेश सभाको महत्वपूर्ण निर्वाचनमा भएको बाम गठबन्धनलाई जिताउन अन्ततः आफु सच्चिएर एमालेमा फर्किएको उनले बताए ।
कार्यक्रममा बोल्दै बामगठबन्धन डोटीका प्रतिनिधी सभा उम्मेदवार आलेमगर र प्रदेश सभा निर्वाचन क्षेत्र नं. क का उम्मेदवार मल्लले उनिप्रति हार्दिक आभार व्यक्त गरे ।
डोटी लगायत देशभरमै बामगठबन्धनको पक्षमा जनलहर बढ्दै गएकाले जित सुनिश्चित रहेको भन्दै सम्पूर्ण डोटेली मतदाताहरुलाई उत्साहपूर्वक रुपमा बामगठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उम्मेदवार द्वयले आह्वान गरे ।












प्रतिक्रिया