११ मंसिर २०८३, शुक्रबार

टीकापुर घटनाका यी दुई अभियुक्तले दिए उम्मेदवारी, निर्वाचन आयोगले थाहै पाएन

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १९ कात्तिक । कैलालीको टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राजपा नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानूनी रूपमा फरार अभियुक्त रेशम चौधरीले उम्मेदवारी दर्ता गराएको बताए । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तलाई पनि उम्मेदवार बन्न पाउने कानूनी प्रवाधान भएको उनको भनाइ छ ।

एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । रेशमविरुद्ध कसैको पनि उजुरी भने परेको छैन ।

मुख्य निर्वाचन अधिकृत अर्याल निर्वाचन लड्न पाउने भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाइने बताएका छन् ।

टीकापुर घटनामा संलग्न भएको भन्दै रेशमविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेको छ ।

त्यही मुद्दामा २५ जना २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी २ वर्षदेखि फरार छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले फरार व्यक्तिले उम्मेदवारी दर्ता गर्ने कानुनबमोजिम भए–नभएको मुख्य निर्वाचन अधिकृतले हेर्ने विषय भएको बताएका छन् ।

 

टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण थारूले कैलाली निर्वाचन क्षेत्र ६ मा राजपाबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् ।

उनले पनि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी स्थानीय जगन्नाथ चौधरीले दर्ता गरेका छन् । उनको उम्मेदवारी भने कानुनसम्मत भएको कानुन व्यवसायीले बताएका छन् ।