११ मंसिर २०८३, शुक्रबार

नेविसंघको ‘एक वुथ ५० युथ’ अभियान सुरु, वाम गठबन्धनलाई काउन्टर दिने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले कम्यूनिष्ट गठबन्धन अधिनायकवाद लाद्ने प्रपञ्च भएको भन्दै देशव्यापी अभियान थाल्ने भएको छ ।

गत असोज ३१ मा देशभरका क्याम्पस इकाई स्ववियू सभापति, क्षेत्रिय, जिल्ला अध्यक्ष, निवर्तमान केन्द्रीय समिति, वर्तमान केन्द्रीय समिति र अन्य अगुवा कार्यकर्ता गरी १५ सय भन्दा बढी सहभागि गराएर राष्ट्रिय रणनीतिक प्रशिक्षणको आयोजना गरेको नेविसंघले अब अभियान सुरु गर्न लागेको अध्यक्ष नैनसिंह महरले बताए ।

उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका शीर्ष नेताहरुले कम्यूनिष्ट प्रजातन्त्र विरोधी भएकाले लोकतन्त्रको संरक्षण र स्वतन्त्रताका लागि देशभर नै हरेक जनताको घरदैलो पुगेर कम्यूनिष्ट प्रवृत्तिको भण्डाफोर गर्न विद्यार्थी नेताहरुलाई निर्देशन दिएका थिए ।

उनीहरुले प्रजातन्त्रको रक्षार्थ कांग्रेसलाई जिताउन अभियान सञ्चालन गर्न दिएको निर्देशन अनुसार नेविसंघले चार लाख युवाहरुलाई निर्वाचनमा परिचालन गर्न लागेको हो ।

देशभरका सबै स्थानीय तह, ३ सय ३० प्रदेश सभा र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रचार प्रसार तथा चुनाव परिचालन कमिटी र जिल्ला क्याम्पसमासमेत प्रचार कमिटी गठन गरेर कांग्रेसका पक्षमा जनमत बनाउन अभियान सुरु गर्न लागेको अध्यक्ष महरले बताए ।

कात्तिक २० गतेदेखि सुरु हुने अभियानका लागि सम्बन्धित जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरु र खाली ८ जिल्लामा सम्बन्धित प्रदेशको उपाध्यक्ष र सहमहामन्त्रीलाई संयुक्तरुपमा केन्द्रीय प्रतिनिधिका रुपमा पठाइएको छ ।

केन्द्रीय प्रतिनिधिले सम्बन्धित क्षेत्रका कांग्रेसका उम्मेदवारको समन्वयमा प्रचार कमिटी गठन गर्ने र हरेक चुनावी गतिविधिहरुबारे पार्टी र नेविसंघको केन्द्रीय कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको संघका मुख्यसचिव डिल्लीराज हमालले बताए । उनका अनुसार प्रत्येक बुथमा ५० युवा स्वयमसेवी खटिने छन् ।