काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले)को समानुपातिक सूचीमा परेकी नेतृ गंगा चौधरी सत्गौँवाले निर्वाचन आयोगको लापरबाहीले आफ्नो नाम नयाँ शक्ति पार्टी नेपालको समानुपातिक सूचीमा राखेको भन्दै आपत्ति जनाएकी छिन् ।
नयाँ शक्ति पार्टी छाडेर एमालेमा प्रवेश गरेपछि आफूले नयाँ शक्ति पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएको बताइन् ।
‘मैले सबै कानूनी प्रक्रिया पुर्याएर निर्वाचन आयोगमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, निर्वाचन आयोगले नयाँ शक्ति पार्टीको समानुपातिक सूचीबाट नाम नहटाएर नाम प्रकाशित गरेको रहेछ ।’
नेकपा (एमाले)को प्रतिनिधि सभाको समानुपातिक सूचीमा चौधरीको नाम थारु महिलामा दोस्रो नम्बरमा छ । ‘म एमालेमा प्रवेश गरिसकेको व्यक्ति हुँ’, उनले भनिन्, ‘सबै कागजपत्र र कानूनी प्रक्रिया पुर्याएर एमालेमा गएकी हुँ । अब निर्वाचन आयोगले कुनै गल्ती गर्छ भने त्यसको दोष मलाई छैन ।’
निर्वाचनको बेला नेकपा (एमाले)को पक्षमा जनलहर आइरहेका बेला आयोगले यसरी कुनै पार्टी र उम्मेदवारविरुद्ध क्रियाकलाप गर्नु आपत्तिजनक रहेको चौधरीले बताइन् ।
यसैबीच, निर्वाचन आयोगले चौधरीको नाम एमाले र नयाँ शक्ति पार्टीको समानुपातिक सूचीमा असावधानीपूर्वक परेको जनाएको छ । आयोगले नयाँ शक्ति पार्टीको सूचीबाट नाम हटाइसकेको चौधरीले बताइन् ।












प्रतिक्रिया