जटही (जनकपुरधाम) १८ कात्तिक । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिको प्रतिद्वन्द्वीको रुपमा उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा–३ मा शनिबार निधिकै गाउँबाट आफ्नो चुनावी प्रचारप्रसार सुरु गरेका छन् । निधिको जन्मथलो रहेको नगराइन नगरपालिकाको जटहीमा रहेको मधेश आन्दोलनका प्रथम शहिद दुर्गानन्द झाको शालिकमा माल्यार्पण गर्दै आफ्नो चुनावी अभियानको उनले सुरुवात गरेका हुन् ।
शनिबार बिहान आफ्ना सयौँ कार्यकर्ता र स्थानीय जनताको बीच चुनावी अभियानको सुरुवात गर्दै महतोले यो निर्वाचन मतदान मात्र नभएर मधेश आन्दोलनको एउटा रुप रहेको बताए । काँग्रेसका नेता र आफ्ना प्रतिद्वन्द्वी बिमलेन्द्र निधिलाइ लक्षित गर्दै महतोले भने, ‘काँग्रेसी सरकारले मधेश आन्दोलनको बेला चलाएको बुलेटको जवाफ यसपाली धनुषाका जनताले ब्यालेटले दिने छन् ।’
जनकपुरमा मधेश आन्दोलनमा शाहदत पाएका विभिन्न शहिदहरुको परिवारलाइ भेट्दै राजेन्द्र महतोले निधि गृहमन्त्री भएकै बेला उनको निर्देशनमा मलेठमा गोली चलाएर ५ जनाको हत्या गरेको समेत आरोप लगाउंदै त्यसको बदला यसपाली धनुषाका जनताले लिने बताए ।
मधेश विरोधी संविधान बनाउने काम नेपाली काँग्रेसले नै गरेको र मधेशी जनताको माग अनुरुप संविधान संशोधनको प्रस्ताव काँग्रेसकै कारण सफल हुन नसकेको आरोप महतोले लगाए । उनले मधेशी जनता अब जागरुक भई सकेको र कसैको र कुनै प्रकारको लोभ लालच, भय त्रासमा आएर मधेश विरोधी पार्टीलाइ र मधेशी आवरणमा रहेका मधेश बिरोधी नेतालाइ मतदान नगर्ने दाबी गरे ।











प्रतिक्रिया