११ मंसिर २०८३, शुक्रबार

आरजु जिताउन देउवाको यो कदमले कांग्रेस कैलालीमा खैलाबैला, उपसभापतिले राजीनामा दिए

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १८ कात्तिक । पत्नी आरजु राणालाई जसरी पनि जिताउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कैलालीमा टिकट वितरणमा मनोमानी गरेपछि कार्यकर्तामा असन्तुष्टि बढेको छ ।

यसको उदाहरण बनेको छ कांग्रेस कैलालीका उपसभापति प्रकाश बमको राजीनामा । बमले शुक्रबार सभापति देउवाको मनोमानी र हस्तक्षेपविरुद्ध असन्तुष्टि जनाउँदै उपसभापति र जिल्ला सदस्य पदबाट राजीनामा दिएका हुन् ।

यसअघि लम्कीमा पनि थुप्रै कार्यकर्ताले टिकट वितरणमा देउवाको मनोमानीविरुद्ध विद्रोह गरिसकेका छन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मुखमा उपसभापतिको राजीनामाले कांग्रेस कैलालीलाई चुनावी नतिजामा ठूलो धक्का लाग्ने विश्लेषण गरिएको छ ।

राजीनामापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बमले आफनो राजनीतिक हत्या भएकोले पार्टी परित्याग नभई राजीनामा मात्रै दिएको बताए ।

मसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरणको विषयलाई लिएर बमले राजीनामा दिएका हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कैलाली ४ बाट दाबेदार थिए । उनको नामसर्वसम्मत रुपमा सिफारिस भएको थियो ।

तर, कैलाली ४ बाट कुनै सल्लाह नै नगरी केन्द्रले उनको नाम हटाएर प्रदेश सभाका (क) मा राख्यो । अन्तिममा आएर प्रदेशबाट पनि उनलाई आउट गरियो ।

कैलाली ४ मा प्रतिनिधि सभातर्फ काग्रेसले सुनिलकुमार भण्डारीलाई टिकट दियो । यहाँबाट प्रदेश सभा (क) मा यज्ञराज चौधरी र (ख) मा हिरादत्त भट्टले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, कांग्रेसले निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई टिकट दिएको छ त्यसको (क) बाट जीवन राना र (ख) बाट डिल्लीराज पन्तको उमेदवारी परेको छ ।

प्रधानमन्त्री पत्नीलाई जिताउनका लागि लामो समयदेखि राजनीतिमा लागेकालाई अन्याय गरेर गोजीबाट उम्मदे्वार चयन गरिएको बमको आरोप छ । डोटी, डडेल्धुरा र राना थारु समुदायको भोट आरजुलाई आउछ भनेर डोटी, डडेल्धुरा र चौधरी, राना थारुका उम्मेद्वार उठाईएको जनाईएको छ ।

बमले आफनो टिकट खोसिदा आफूलाई जानकारी नै नदिएकोले राजीनामा दिनुपरेको बताए । आफ्नो राजनीतिक हत्या भएका बमको ठहर छ । कैलालीका अधिकाश क्षेत्रमा काग्रेसले हार्ने विश्लेषण समेत बमले गरेका छन् ।