काठमाडौँ, १७ कात्तिक । नेपाली राजनीतिमा नातावाद र कृपावादको निकै ठूलो महत्व छ । खासगरि, दक्षिण एशियाको राजनीतिमा यो रोग निकै देखिन्छ । आफ्नालाई पोस्ने र जनताका छोराछोरीसँधै झोलामात्रै बोक्ने रोग नेपाली राजनीतिमा मौलाउँदै गएको छ । राजनीति र परिवर्तनमा निकै कम योगदान गरेकाहरुको उम्मेदवार बन्ने मौका पाएका छन् । त्यस्तामध्ये केही श्रीमती छन्, कोही बहिनी, ज्वाईं । अझ पैसा र हतियारको बलमा जनतालाई त्रसित गर्नेहरु पनि माननीयको दौडमा छन् । जसको नाम सुन्दा जनता त्रसित हुन्छन्, उनीहरु नै जनताको प्रतिनिधि बनेर सांसद धाउने देखिएका छन् । अपवादबाहेक नेपालका सबैजसो दलमा उम्मेदवार चयन गर्दा फोहोरी खेल देखियो । हेर्नुस् केही पात्रहरुः
गणेश लामाः काठमाडौँका नामुद गुण्डा । काभ्रे क्षेत्र नम्बर १ बाट काँग्रेसको उम्मेदवार ।
दीपक मनाङ्गे: चर्चित गुण्डा नाइके । स्वतन्त्र उम्मेदवार भनिए पनि उनको समर्थनमा एमाले उम्मेदवारबाट उम्मेदवारी नै फिर्ता ।
आरजु देउवा: काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी । यसअघि नै समानुपातिक सभासद् । यसपटक फेरि कैलालीबाट प्रत्यक्ष उम्मेदवार ।
बिना मगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी । कञ्चनपुर क्षेत्र नम्बर १ बाट वाम गठबन्धनको साझा उम्मेदवार ।
जीवन आचार्य: प्रचण्डका ज्वाईं । मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार ।
अनिल शर्मा: माओवादीका नेता एवं विनाविभागीय मन्त्री जनार्दन शर्माका सहोदर भाइ । काठमाडौं १ बाट माओवादी केन्द्रका उम्मेदवार ।
सुशीला पुन: माओवादीका नेता वर्षमान पुनकी बहिनी । प्रदेशकी उम्मेदवार ।
तिलक रानाभाट: पेशाले मेनपावर व्यवसायी । कास्की क्षेत्र नम्बर १ खबाट कांग्रेस उम्मेदवार । नेतालाई चन्दा बुझाएर उनले टिकट पाएको काँग्रेसमा चर्चा छ ।
मोतीलाल दुगड: एमालेलाई चन्दा बुझाएकै कारण समानुपातिक सांसदको उम्मेदवार। उनी उद्योगी हुन् । एमालेमा उनको योगदान नै छैन् ।
बिनोद चौधरी : कहिले एमाले, कहिले नयाँ शक्ति पार्टीमा । एमालेबाट सांसद बन्न नपाएपछि एकाएक काँग्रेसमा प्रवेश । काँग्रेसलाई पैसा बुझाएर समानुपातिक सांसदको उम्मेदवार ।
यस्ता कयौँ नाम छन्, जो नाता र कृपाकै कारण प्रत्यक्ष र समानुपातिक उम्मेदवार बनेका छन् । नेपाली राजनीतिमा आपराध कर्महरुमा रहेकाहरुको आश्रय र पैसाको लालचाले कतै सोझा र इमान्दारहरु पाखा लाग्ने अबस्था सिर्जना भएको देखिएको छ ।











प्रतिक्रिया