
काठमाडौँ, १७ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छिट्टै पार्टी एकीकरण हुने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ५ मा शुक्रबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले पार्टी एकीकरण गर्ने उद्देश्यसहित गठबन्धन गरिएकाले सिट बाँडफाँटमा चित्त नदुखाउन कार्यकर्तालाई अनुरोध गरेका छन् ।
पार्टी एकीकरणलाई जोड दिँदै पोखरेलले भने –‘अब आउने चुनावमा सूर्य र हँसिया हतौडा दुबैमा भोट हाल्नुपर्दैन, यी दुवै चिन्ह एउटै हुन्छन् ।’
‘कतिपय हाम्रै नेता तथा माओवादीका पनि छिटफुट असन्तुष्टि देखिएका छन् ।’ एमाले महासचिव पोखरेलले भने – ‘ठूलो उद्देश्यसहित गठबन्धन गरिएकाले साना तिना कुरामा चित्त दुखाउनुहुन्न ।’ महासचिव पोखरेलले सोमबारसम्म संयुक्त घोषणापत्र पनि आउने जानकारी दिए ।
एमाले र माओवादीको गठबन्धनबाट काँग्रेस आत्तिएर काँग्रेसले बिभिन्न भ्रम फैलाएको पोखरेलको भनाइ छ ।’ उनले भने – ‘यो देशमा शान्ति र संविधान हामीले नै ल्याएको हो । वामपन्थीहरु मिल्दा काँग्रेसलाई के को टाउको दुखाई ? अब नेपाली जनता कुनै भ्रममा पर्दैनन् । ‘
महासचिव पोखरेलले वामपन्थी गठबन्धनलाई बहुमत दिन आग्रह पनि गरे । ‘तपाईंहरुले हामीलाई बहुमत दिनुस्, हामी यो देशको कायालपट गर्छौं ।’ – पोखरेलले भने ।

कार्यक्रममा बोल्दै प्रदेश सभाका उम्मेदवार दीपक निरौला, समानुपातिक उम्मेदवार अष्टनारायाण डंगोल लगायतले एमालेको जित सुनिश्चित रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी महेन्द्र केसी एमालेमा प्रवेश गरेका छन् । केसी टोखास्थित सत्य साई टोल सुधार समितिका उपाध्यक्ष पनि हुन् । उनलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने एमाले टोखा वडा नम्बर ३ का अध्यक्ष गणेशमान श्रेष्ठले बताए ।















प्रतिक्रिया