२ कार्तिक २०८३, सोमबार

चितवन ३ मा प्रचण्डलाई विक्रम पाण्डेदेखि रेग्मीसम्मको चुनौति, कांग्रेसको समर्थन कसलाई ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्बर ३ मा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

कूल उम्मेदवारको संख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षण मन्त्री समेत हुन् । उनी प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । यहाँ कांग्रेसले आफ्नो उम्मेदवारी दिएन । यस क्षेत्रका चर्चित नेता पाण्डेलाई समर्थन गर्यो ।

यहाँ सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहेका टंकनाथ रेग्मी देशभक्त पनि जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन् ।

यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोही क्षेत्रमा स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रको प्रदेशतर्फ ‘क’ र ‘ख’ मा ८–८ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीनजना स्वतन्त्र उम्मेदवार हुन् ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले उम्मेदवारी दिएका छन् ।

सोही क्षेत्रको प्रदेश ‘क’मा ९ दलका उम्मेदवार र ‘ख’मा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं १ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा स्वतन्त्र चार र ११ दलका उम्मेदवार छन् ।

सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोही क्षेत्रको प्रदेश ‘क’ मा १० दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने ‘ख’ मा पनि १० दलका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।