१५ कार्तिक २०८३, आइतबार

कुन नेता विरुद्ध क–कसले दिए वागी उम्मेदवारी ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा टिकट बितरणप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी  दर्ता गराएका छन् ।

४५ जिल्लाका  प्रतिनिधिसभातर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५५ निर्वाचन क्षेत्रका लागि बिहीबार भएको मनोनयनमा कतिपय दलका शीर्ष नेताकै विरुद्ध समेत बागी उम्मेदवारी परेको छ ।   राजधानी दैनिकले समाचार छापेको छ ।

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै विभिन्न दलका आधिकारिक उम्मेदवारविरुद्ध सोही दलका असन्तुष्ट नेताको बागी उम्मेदवारी परेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बागी उम्मेदवारी परेको छ । यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा र माओवादी नेता हरिबोल गजुरेलविरुद्ध गठबन्धनबाटै बागी उम्मेदवारी परेको छ ।

प्रधानमन्त्री पत्नीविरुद्ध भण्डारी र पौडेलविरुद्ध जोशी

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट बागी उम्मेदवारी दिएका छन् । तनहुँ–१ बाट २०४८ र तनहुँ–२ बाट २०५१, २०५६, २०६४ र २०७० को निर्वाचनमा लगातार नेता पौडलले चुनाव जित्दै आएका थिए ।

जोशी तनहँु–२ बाट २०४८, २०५१, २०५४ मा क्षेत्र–१ बाट विजयी भएका थिए भने २०६४ मा माओवादी केन्द्रका उम्मेदवार सुरेश आलेसँग पराजित भएका थिए । आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले टिकट नपाएपछि नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

कास्की–२ को प्रदेशसभा ‘ख’मा कांग्रेस नेता नरेशशंकर पालिखेले आधिकारिक उम्मेदवार बिन्दुकुमार थापाविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

रूपन्देही–३ को प्रदेशसभा ‘क’मा पनि कांग्रेसका ओमकुमार श्रेष्ठले आधिकारिक उम्मेदवार देवीराम चौधरीविरुद्ध उम्मेदवारी दिएका छन् । दैलेख–१ मा गठबन्धनका राप्रपा उम्मेदवार दीपक शाहीविरुद्ध कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् भने कांग्रेस नेता नरसिंह मल्ल प्रदेशसभाको बागी उम्मेदवार बनेका छन् ।

कैलाली–५ मा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाविरुद्ध नेपाल विद्यार्थी संघका नेता क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पत्नीविरुद्ध बागी उम्मेदवारी परेको हो ।

बिनाविभागीय मन्त्रीविरुद्ध पूर्वसांसद

वाम गठबन्धनका काठमाडौं–२ मा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । उनीविरुद्ध एमाले कार्यकर्ता एलपी श्रेष्ठले बागी उम्मेदवारी दिएका हुन् ।

यता नेकपा माओवादी केन्द्रका नेताले सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्यविरुद्ध माओवादीका संस्थापक नेताले नै बागी उम्मेदवारी दर्ता गराए ।

प्रतिनिधिसभामा बिनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतविरुद्ध पूर्वसांसद तथा  माओवादी केन्द्रका संस्थापक उमाकान्त शर्माले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश ‘क’बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका एमालेका गुलावजंग शाहविरुद्ध माओवादीका पूर्वजिल्ला इन्चार्ज भीमप्रकाश शर्मा र प्रदेशसभा ‘ख’बाट उम्मेदवारी दर्ता गराएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध माओवादीका पूर्वकमान्डर जितबहादुर पुनले उम्मेदवारी दिएका छन् ।

सिन्धुलीमा माओवादी नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलविरुद्ध प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् ।  प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडीविरुद्ध  एमालेकै कुमारबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।

सिन्धुली १ को ‘क’मा माओवादी उम्मेदवार लेखनाथ दाहालविरुद्ध माओवादीकै जिल्ला उपाध्यक्ष दिलबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।  महिना दिनअघि मात्र एमाले प्रवेश गरेकी गायिका कोमल ओली एमाले उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेकी छन् । राप्रपा नेपाल छाडेर एमाले प्रवेश गरेकी ओलीले दाङ–३ का आधिकारिक उम्मेदवार हीराचन्द्र केसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराइन् ।