१५ कार्तिक २०८३, आइतबार

यी हुन् उम्मेदवारी दर्ता गराएका देउवा, ओली र प्रचण्डका नातागोता

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण खोज्न टाढा जानै पर्दैन ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुगाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा– १ मा उम्मेदवारी दर्ता गराए । श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली– ५ मा पुगेर उम्मेदवारी दर्ता गराएकी छिन् ।

एमाले अध्यक्ष केपी ओलीले झापा– ५ मा पुगेर उम्मेदवारी दर्ता गराए । वाम गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गरेका ओलीले सिट बाँडफाँडको क्रममा प्रचण्डलाई आफ्नो मान्छेलाई एक सिट चाहिने भन्दै सालोलाई प्रदेशसभामा सुरक्षित गरेका छन् । ओलीका सालो ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातागोता अझ बढी नै चुनावी मैदानमा देखिए ।

प्रचण्ड स्वयम् वाम गठबन्धनको तर्फबाट चितवन ३ मा मनोनयन दर्ता गर्न पुगे । छोरा प्रकाशकी श्रीमती अर्थात् बुहारी बिना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन् ।

कान्छो ज्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् । भाइ नारायण दाहाललाई समानुपातिकको सूचीमा राख्न सफल भएका छन् ।