२१ कार्तिक २०८३, शनिबार

सेनाले यस्तो बनायो निर्वाचन सुरक्षा रणनीति, जंगी अड्डामा पृतनापतिहरुको विशेष भेला

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेपाली सेनाले आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा रणनीति निर्माण गरिरहेको छ । यसैक्रममा विहिबार सैनिक मुख्यालय जंगीअड्डामा देशभरीका पृतनापतिहरुको सहभागितामा निर्वाचन सुरक्षा सम्बन्धी छलफल भएको छ । छलफलमा पृतनापतिले आ आफ्नो क्षेत्रको सुरक्षा अवस्था र तयारीबारे विफ्रिङ गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

छलफल कार्यक्रमको उदघाटन रक्षामन्त्री भिमसेन दास प्रधानले गरेका थिए । मन्त्री प्रधानले आफ्नो सम्बोधनमा विगतमा सम्पन्न विभिन्न निर्वाचनहरुको साथै स्थानीय तहको गत निर्वाचनका विभिन्न चरणमा, सुरक्षा सम्बन्धी जिम्मेवारी अत्यन्त प्रभावकारी रुपमा निर्वाह गर्दै उक्त निर्वाचनहरुलाई सफल पार्न नेपाली सेनाले पुर्याएको योगदान कदरयोग्य रहेको बताए ।

सम्बोधनकै क्रममा उनले आगामी मंसिर महिनामा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न कटिबद्ध रहेको कुरा बताउदै विगतको अनुभव र आफ्नो पेशागत दक्षताका आधारमा निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाह गर्न नेपाली सेना सफल रहने कुरामा पूर्णरुपमा विश्वस्त रहेको बताए ।

उनले जङ्गी अड्डाको निर्देशन बमोजिम पृतनापतिहरुले योजनाबद्ध रुपमा फौज परिचालनका साथै सम्बन्धित अन्य निकायहरुसँग समन्वय र सहकार्य गर्दै निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

यसैबीच, छलफल कार्यक्रमको क्रममा सम्बन्धित विभागहरुबाट वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत भएको थियो भने सबै पृतनापतिहरुले आ–आफ्ना जिम्मेवारी क्षेत्रका निर्वाचन सुरक्षा योजना सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा, प्रधानसेनापति राजेन्द्र क्षत्रीले समापन मन्तव्य व्यक्त गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली सेनालाई प्राप्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गर्ने सिलसिलामा विभिन्न विभाग र पृतनाहरुले गरेको प्रस्तुतिकरण र अन्तरक्रियाबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरुका लागि सम्पूर्ण सहभागिहरुलाई धन्यबाद दिए ।

उनले यसअघि सम्पन्न स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने क्रममा जङ्गी अड्डाबाट दिईएका निर्देशनहरुको साथै हालै जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व तयारी सहित आफ्नो जिम्मेवारीलाई व्यवसायीक तथा उत्कृष्ट ढङ्गबाट पूरा गर्दै आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा पनि कुनै कसर नराखि नेपाली सेनाले शान्तिपूर्ण ढङ्गबाट सु–सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

सम्बोधनकै क्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले विगतको निर्वाचन तथा विपद्को समयमा भरपर्दो र विश्वसनीय फौजको छबी राख्न सफल भएको र आसन्न निर्वाचनलगायत आउँदा दिनहरुको चुनौतीहरुलाई सहजताकासाथ लिई व्यवसायिक ढङ्गले सफलतापूर्वक सम्पन्न गरी नेपाली सेनाको छबिलाई उच्च राख्न समेत निर्देशन दिएका थिए ।

छलफल कार्यक्रममा निमित्त रक्षासचिव ऋषि राजभण्डारी, सबै पृतनापतिहरु लगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

यस किसिमको छलफल र आपसी अन्तरक्रियाको माध्यमबाट प्राप्त रचनात्मक सुझावहरुले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई सफलताकासाथ सम्पन्न गराउन ठोस योगदान पुग्नुको साथै नेपाली सेनाको रचनात्मक भूमिकाले सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा मतदानपूर्व, मतदानको समय र मतदान पश्चात्समेत निर्वाचनमा भाग लिने मतदाता, उम्मेद्वार, कर्मचारी तथा सर्बसाधारण जनतामा भयरहित बातावरण श्रृजना भई सबैले आ–आफ्नो तर्फबाट उत्साहपूर्वक निर्वाचनमा सहयोगि भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।