ललितपुर, १६ कात्तिक । प्रतिनिधिसभा सदस्य मनोनयनका लागि जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालय बाहिर बिहीबार साढे २ बजेपछि भीड बाक्लियो । ललितपुर क्षेत्र नम्बर १ को मनोनयन दर्ताका लागि पुगेका उम्मेदवार, अघिपछि रहेका कार्यकर्ता, सुरक्षाकर्मी र सञ्चारकर्मीका कारण भीड बढेको थियो ।
१ बजे कांग्रेस नेता उदयशमशेर राणा मनोनयमा छिर्दा जति भीड थियो, त्यसको चार गुणा भीड अर्का उम्मेदवार छिरेपछि बढेको थियो। सुरक्षाकर्मी र सञ्चारकर्मी राणाका प्रतिस्पर्धी उम्मेदवार भएको भीडतिर मुन्टो तन्काइरहेका थिए। फोटोग्राफरहरू क्यामराका बटनहरू अन्धाधुन्दै दबारहेका थिए।
बाहिर ब्याण्ड बाजा र कम्युनिष्ट पार्टी विभिन्न नारा घन्किरहेका थिए। सेल्फी हान्ने र फोटोसेसन गर्नेहरूको लामै थियो। उकुसमुकुस भीडबाट दौरासुरुवाल, कोट, टोपी र गलामा सयपत्रीको माला पहिरिएर उम्मेदवार छिरे। गेटबाहिर कार्यकर्ता र शुभचिन्तकहरूबाट तालि बज्यो।
ती उम्मेदवार थिए, पूर्वडिआइजी नवराज सिलवाल। सरकारले प्रहरी महानिरीक्षक नियुक्तिमा अन्यायमा पारेका सिलवाल बाम गठबन्धनको साझा उम्मेदवार बन्दै ललितपुर क्षेत्र नम्बर १ बाट मनोनयन दिन आइपुगेका थिए। मनोनयन दर्ताका लागि कार्यालयभित्र पस्दै गर्दा उनी उत्साहित थिए। उनको हँसिलो चेहरालाई सयपत्रीको मालाले थप शोभा दिलाएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनामा सिलवाललाई बढुवामा अन्याय भएको थियो। सर्वोच्च अदालतबाट एकपटक त उनले न्याय पाइसकेका थिए। तर, सर्वोच्चको नेतृत्व परिवर्तनपछि न्यायको भरोसा टुट्यो। त्यसलगत्तै पद त्यागेर उनी राजनीतिमा प्रवेश गरे।
२९ वर्ष नेपाल प्रहरीमा रहेर देश र जनताको सेवा गरेका उनी कम्युनिस्ट राजनीति (नेकपा एमाले)मा होमिए। हिजो सबैले जय नेपाल भनेर बोलाउने सिलवाल अहिले ‘लाल सलाम कमरेड’ भएका छन्। उनलाई जय नेपालबाट ‘लाल सलाम’तिर हुत्याएको भने उही राजनीति हो।
मनोनयन दर्तापूर्व उनले राजनीतिबाट आफूले भोगेको पीडा प्रसंग थोरै कोट्याए। ‘राज्यबाट ममाथि जुन किसिमले निर्ममतापूर्वक व्यवहार भयो, अन्याय महसुस गरेर म नागरिकको घरदैलोमा गएको छु, मैले न्याय पाउनेछु,’ सिलवालले भने, ‘यो मुलुकलाई महत्वपूर्ण योगदान दिने बाटोमा मेरो भूमिका थप मजबुत बन्नेछ।’
राजनीतिको मिसन भिजन के हो ?
राष्ट्र सेवाबाट अलग भई राजनीतिमा आउनुका अरु मिसन भिजन पनि छन् सिलवालका। उनकै शब्दमा आफूले अंगालेको राजनीतिको मिसन भिजन मुलुकमा सुशासन दिने, न्यायमुलक समाज निर्माण गर्ने र आर्थिक समृद्धि हो। ‘म यिनै मिसन भिजनको अभियान लिएर राजनीतिमा आएँ,’ सिलवालले भने।
‘सुरक्षा निकायको हाकिम हुन गाह्रो कि राजनीति गर्न?,’ बाक्लो घेरा हालेका पत्रकारहरूमध्ये कसैले प्रश्न सोझ्यायो। उनले उत्तर दिए, ‘मैले प्रहरीमा रहँदा मन, बचन र कर्मले उच्च व्यावसायिकतासाथ नागरिक र मुलुकको सेवा गरेको थिएँ, आज राजनीतिमा आएपछि पनि मेरो मिसन त्यही हो।’
सिलवालका अनुसार हिजो शान्ति सुरक्षा दिने, कानुन कार्यान्वयन गराउने जिम्मेवारी थियो। अब मुलुक विकास गर्ने, समृद्धि दिने र न्यायमुलक समाज निर्माण गर्ने अभियान छ। त्यसैले उनी निष्पक्ष र भयरहित चुनाव हुनुपर्ने बताइरहेका छन्। चुनाव उठिरहँदा राज्यबाट हुनसक्ने सम्भावित गतिविधिसँग उनी सजग छन्।
‘म फेयरनेस इलेक्सनमा विश्वास गर्छु,’ उनले भने। उनका अनुसार सबै दलसँग घोषणापत्र छन्, मिसन छन्, त्यो अन्तर्गत गएर निष्पक्ष प्रतिस्पर्धा गर्ने हो। ‘हामी आफ्ना एजेन्डा लिएर जनताकहाँ जाऔं,’ प्रतिस्पर्धी उम्मेदवारलाई सुझाव दिँदै सिलवालले भने, ‘चुनाव लोकतन्त्रको ढोका हो। हामीकहाँ संविधान आइसकेको छ, अब आर्थिक समृद्धि हासिल गर्नु छ, भारत र चीनले जुन स्तरमा आर्थिक समृद्धि हासिल गरेका छन्, हामी त्यसरी अगाडि बढ्नुपर्छ।’
चुनाव जित्ने कुरामा उनी शतप्रतिशत विश्वस्त रहेछन्। ‘नागरिकको भरोसा नै मेरो जीवन हो, हिजो पनि म जनताको माया र प्रेमबाट नै अगाढि बढेको हुँ। आज पनि जनताको स्नेह उति नै छ, त्यसैले म चुनाव जित्छु,’ उनले भने।
सोचेर भोट दिऔं: उदयशमशेर
कांग्रेस नेता उदयशमशेर राणा अहिले प्रतिस्पर्धामा आएको बाम गठबन्धनसँग केही सशंकित छन्। उनले कम्युनिस्टहरूले उठाएको आर्थिक समृद्धिको औचित्य नरहेको बताए। ‘कम्युनिस्टहरूले उठाएको आर्थिक समृद्धिको एजेन्डा २१ औं शताब्दीमा आवश्यक छैन, चाहिएको छैन,’ उनले भने, ‘लोकतान्त्रिक किसिमको आर्थिक समृद्धिका लागि सोचेर भोट दिऔं।’
उनले लोकतान्त्रिक आर्थिक समृद्धि र कम्युनिस्टहरूले उठाएको आर्थिक समृद्धिका गुण अवगुणबारे भने केही बताएनन्। ललितपुरको चुनाव सम्बन्धमा उनले हिजो कांग्रेसबाट निर्वाचितहरूले गरेको विकास र सुशासनमा पुर्याएको योगदान नै जितको आधार भएको दाबी गरे।
ललितपुर क्षेत्र नम्बर १ राजधानीकै विकट क्षेत्र मानिन्छ। यहाँ सिलवाल र राणाबीच द्विपक्षीय भिडन्त छ। एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनका कारण यहाँ कांग्रेसलाई चुनौती छ। भिन्न राजनीतिक अवधारणामा मौलाएका कम्युनिस्ट दलहरूले एकताको अभियान लिएर चुनावी गठबन्धन गरेपछि लोकतान्त्रिक विचारधारा बोकेका दल अप्ठेरोमा परेका छन्।














प्रतिक्रिया