काठमाडौँ, १६ कात्तिक । चन्द्रागिरी हिल्स लिमिटेडद्वारा प्रबद्र्धन गरिएको चन्द्रागिरी केबलकार र टर्किस एयरलायन्सविच टिकट खरिदमा छुट लिनेदिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलायन्सका महाप्रबन्धक अब्दुल्हा तुन्सेर केसेचिलेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार चन्द्रागिरी हिल्स र टर्किस एयरलायन्समा कार्यरत कर्मचारी र यात्रुले दुवैतर्फको टिकट खरिदमा छुट पाउनेछन् । छुट सम्बन्धी व्यवस्था सम्झौता पत्रको सेवा र शर्तहरुमा आधारित हुनेछ । कर्मचारीहरुले कम्पनीले जारी गरेको परिचय–पत्र तथा यात्रुले यात्रा अवधिको बोर्डिङ्ग पास र टिकटका आधारमा छुट पाउनेछन् ।
सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज छन् । विश्वका ३०० गन्तव्यमा टर्किस एयरलायन्सले नियमित उडान भर्दै आएको छ । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।















प्रतिक्रिया