११ मंसिर २०८३, शुक्रबार

झापामा ओलीले यसरी गराए उम्मेदवारी दर्ता (फोटो फिचर)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काँकडभिट्टा, १६ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराएका हुन् ।

एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६ र २०७० सालमा भएको निर्वाचनमा झापाको सोही क्षेत्रबाट संसद् सदस्यमा निर्वाचित भएका थिए ।

वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेता ओलीको मनोनयन पत्रमा लोकबहादुर अधिकारी प्रस्तावक र नेत्रप्रसाद दाहाल समर्थक रहेका छन् ।

नेता ओलीको मनोनयन दर्ताका लागि एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताको ठूलो पंक्ति निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

अपराह्न २ः२० बजे ओली गृहनगर दमकबाट गाडी चढेर उम्मेदवारी दर्ताका लागि चन्द्रगढी आइपुगेका थिए ।

मनोनयनपत्र निर्वाचन अधिकृत शकुन्तला कार्कीलाई हस्तान्तरण गरिसकेपछि नेता ओलीले केहीबेर पत्रकारहरुलाई समय दिँदै कुप्रचार नगर्न कांग्रेस र सरकारलाई चेतावनी दिए ।

उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट मुलुकले बहुमतको स्थिर सरकार पाउने विश्वास व्यक्त गर्दै वाम गठबन्धन मुलुकको आर्थिक समृद्धि र जनताको हितका लागि आवश्यकता भएको बताए

सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट डा खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराए । झापा क्षेत्र नं ५ मा वाम गठबन्धन र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

उम्मेदवारी दर्ता गर्दै ओलीले के भने ?

वाम गठबन्धनप्रति यति सारो निराशा, यति सारो कुण्ठा कुनै पनि पक्षले नगरे हुन्थ्यो । तर अब हतास मनस्थितीको उपज र अस्वस्थ खालका प्रचार शैलीहरु, ती कुराहरु उचित हुँदैनन् । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धा एमाले सरकारमा आयो भने बुढाबुढीलाई गोली हानेर मार्छ भनेर हल्ला चलाइयो, त्यसप्रकारका कुप्रचारबाट राजनीति गर्नु भनेको जनतालाई सचेत बनाउने होइन्, जनतालाई भ्रममा पार्ने, अलमल्याउने हो र जनताका आकांक्षामाथि, प्रगतिमाथि खेलवाड गर्ने कुरा हो । र, म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने मान्छे हो । यति सारो हतासा र निराशाजस्ता कुराहरु कसैले पनि अभिव्यक्त नगरे हुन्थ्यो ।

जसले यस्ता आरोप लगाएका छन्, म भन्न चाहन्छु, लोकतन्त्रका लागि व्यक्तिगत रुपमा मैले जे गरेको छु, पार्टी र वाम गठबन्धनभन्दा माथि जुन आक्रमण छ त्यसको प्रमुखको हैसियतमा मैले भन्नुपर्छ, मेरो जति लोकतन्त्रको लडाइँ लडेको वा त्यति योगदान गरेको, इतिहास भएको कुनै मान्छे मलाई अगाडि उभिएर प्रश्न गरोस् । आन्दोलन संषर्घ गरेर बहुदल ल्याउने हामी । हामीलाई नै लोकतन्त्र मास्छ भन्नु अलोकतान्त्रिक मानसिकताका हो ।

प्रतिपक्षलाई सिध्याउछु भनेर सरकारमा बसेर त्यस्तो कुप्रचार गर्नु उचित होइन् । यद्यपी यसको असर जनतामा छैन् ।

नेपाली कांग्रेसले धोका दिने बानी गर्या छ । पहिला हामीसँग सरकारमा बसेर धोका दियो । माओवादीलाई धोका दियो, अहिले झापामा राप्रपालाई धोका दियो । हामीले झापा ३ राप्रपाको आग्रहमै छाडेका हौं । राप्रपाले मेची अञ्चलभर हामीलाई सघाउने शर्तमा यो निर्णय भएको हो । चुनावमा जो सुकैसँग पनि तालमेल हुनसक्छ । यो ठूलो विषय होइन् ।