– टेकराज भण्डारी
अछाम, १५ कात्तिक । अछाम जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रकोे बाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेद्धारहरुको टुंगोलागेको छ । प्रतिनिधि सभाको लागि २ र प्रदेश सभाको लागि ४ निर्वाचन क्षेत्र रहेको अछाममा दुईपक्षवीच नै मुख्य प्रतिष्पर्धा हुने भएको छ ।
सबैको चाँसो रहेको अछाम क्षेत्र नम्बर १ मा बाम गठबनधनका तर्फबाट नेकपा एमालेको उपाध्यक्ष भीम रावल उम्मेद्धार रहनुभएको छ भने उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसले पार्टी सभापति भरत कुमार स्वारलाई अघि सारेको छ । पूर्व उपप्रधान तथा रक्षा र गृहमन्त्री बनसक्नु भएका एमाले उपाध्यक्ष रावल कांग्रेस अछामका बहालबाला पार्टी सभापतिसंग चुनावि मैदानमा उत्रदैँ हुनुहुन्छ । स्वार कांग्रेस अछामको दुई कार्यकाल सभापति भैसक्नु भएको छ भने २०४९ सालमा जिविस सभापति समेत हुनुभएको थियो ।
पहिले पार्टी सभापति गिरिजाप्रसाद कोईराला निकट मानिने स्वार पछिल्लो समय देउवा निकट भएको कांग्रेस श्रोतको भनाई छ । यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यको क निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट नेकपा एमालेका प्रदेश अनुशाशन कमिटि सदस्य तथा पूर्व पार्टी उपाध्यक्ष गोविन्द कुँवर उम्मेद्धार रहनु भएको छ भने नेपाली कांग्रेसले पूर्व पार्टी सभापति मेघराज खड्कालाई उम्मेद्धारी दिएको छ ।
खड्का २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमाले उपाध्यक्ष भीम रावलसंग करिब ५ हजार मतान्तरले पराजित हुनुभएको थियो । उहाँ यो पटक प्रदेश सभा सदस्यको उम्मेद्धार बन्नुभएको छ । क्षेत्रनम्बर १ को ख निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट माओवादी केन्द्रका झपट बोहराले टिकट पाउनु भएको छ । जुन क्षेत्रमा नेपाली कांग्रेसका पुर्वपार्टी सचिव टेकबहादुर साउँदले टिकट पाउनु भएको छ । साझा विकास बैंकका पूर्व अध्यक्ष रहनु भएका बोहरा बैङिक क्षेत्रमा लामो अनुभव भएका व्यक्ति मानिनुहुन्छ ।
यता, अछाम क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका सचिव यज्ञ बोगटी चुनावी मैदानमा हुनुहुन्छ भने उहाँसंग नेपाली कांग्रेसका पूर्व सभापति पुष्पबहादुर शाह चुनावि मैदानमा हुनुहुन्छ । बोगटी २ कार्यकाल एमाले सचिव हुनुभएको थियो । क्षेत्रनम्बर २ को प्रदेश सभा क मा बाम गठबनधनका तर्फबाट माओवादी केन्द्रका अक्कल रावल र नेपाली कांग्रेसका महासमिति सदस्य सुरत बिष्ट प्रतिष्पर्धा गर्दैछन् । प्रदेशसभा ख मा बाम गठबन्धनको तर्फबाट एमाले सचिवालय सदस्य बलबहादुर सोडारी र नेपाली कांग्रेसका महासमिति सदस्य बलबहादुर कुँवर चुनावि मैदानमा ओलिएका छन् ।
सोडारी २०५४ सालका तत्कालिक कालागाउँ गाविसका अध्यक्ष तथा अहिले वडा सदस्य छन् भने कुँवर २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर २ का उम्मेद्धार हुन् । उहाँ एमाले उम्मेद्धार भरत साउँदसंग करिब ११ सय मतान्तरले पराजित हुनुभएको थियो । संविधान सभाको दोस्रो निर्वाचन र स्थानीय तहको निर्वाचन अनुसार अछाम जिल्लाका दुईओटै प्रतिनिधि सभार ४ ओटै प्रदेश सभामा बाम गठबन्धन अगाडी देखिन्छ । अछाममा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् ।













प्रतिक्रिया