काठमाडौं, १४ कात्तिक । हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सुनाइएका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अचानक पक्राउ गरेपछि नेकपा माओवादी केन्द्रमा खैलाबैला भएको छ ।
ढुंगेल पक्राउ परेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
पार्टीभित्र नेता कार्यकर्ताले ढुंगेलको गिरफ्तारीलाई विस्तृत शान्ति सम्झौता विपरित भन्दै नेतृत्वप्रति आक्रोश पोखिरहेका छन् । सरकारमा हुँदैगर्दा आफ्नो नेता पक्राउ पर्दा नेतृत्व मुकदर्शक बनेको भन्दै कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश र आलोचना गरिरहेका छन् ।
ढुंगेलको गिरफ्तारी र पार्टीभित्रै बाट भइरहेको आलोचनाले यता अध्यक्ष प्रचण्ड तनावमा परेका छन् । उनले अब के गर्ने भन्ने बारे शीर्ष नेतासँग आकस्मिक बैठकमा परामर्श गरिरहेका छन् ।
स्रोतका अनुसार ढुंगेल पक्राउविरुद्ध सडक प्रदर्शनदेखि कडा आन्दोलनका कार्यक्रम ल्याउने तयारी माओवादी शीर्ष नेताले गरिरहेका छन् । वाम गठबन्धन गरेको एमालेले पनि यसमा साथ दिने भएको छ ।
ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वाेच्चबाट जन्मकैद सजायँ पाई फरार रहेका ढुंगेललाई आज विहान केन्द्रीय अनुसन्धान ब्यूरोले सातदोबाटोबाट पक्राउ गरेको थियो । उनलाई अहिले अदालतमा उपस्थित गराइएको छ । आजै नख्खु जेल पठाउने तयारी प्रहरीको छ ।












प्रतिक्रिया