२१ कार्तिक २०८३, शनिबार

गोकर्ण विष्टका योजनाः हरेक घरमा धारा र विजुली, प्रत्येक वडामा कालोपत्रे सडक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले गुल्मी जिल्लाको आर्थिक समृद्धिका लागि नयाँ योजना सार्वजनिक गरेका छन् । आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि पर्यटनको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेका हुन् ।

‘जनताका छोराछोरीलाई शैक्षिक हिसावले माथि उठाउने, जनताको स्वास्थ्य प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्ने, खानेपानी विजुली सडक आदीको भरपर्दो व्यवस्था गर्ने र रोजगारी नपाएर विदेशमा भौतारीनु पर्ने अवस्था अन्त्य गर्नका लागि नयाँ योजना ल्याएका छौँ,’ गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘केन्द्रिय सरकारसंग समन्व्य गरी नयाँ ढंगले रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विजुली, कृषि लगायतका क्षेत्रमा विकास गर्छौँ ।’

उनले आफूले बनाएका केही विकासका योजना सार्वजनिक पनि गरे । जस अनुसार बुल्ममा शहिद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला निर्माणाधिन अवस्थामा रहेको, छल्दी खोलालाई दायाँबायाँ तटबन्ध गरी बोटिङ्ग गर्ने व्यवस्थाका लागि सर्बेक्षण भईसकेको र बढिगाढमा र्याफ्टिङ्ग तथा पर्यटक विकासको लागि कार्यक्रम बनेको जानकारी दिए ।

त्यसबाहेक कँके देउराली र रेसुङ्गामा पर्यटन विकास, २ नम्बर क्षेत्रमा एउटा प्राविधिक शिक्षालय, ४० वटा ठाउँमा अँग्रेजी माध्यममा आधारभूत तहमा पढ्न पाउने गरी सामुदायिक विद्यालय स्थापना गर्ने, कम्तिमा एउटा गाउँ नगरपालिकामा गम्भिर किसिमका उपचार हुन सक्नेगरी स्वास्थ्य संस्थाको स्तरोन्नती, सदरमुकामको अस्पताल सुविधा सम्पन्न अस्पताल निर्माण गरी सामान्य उपचारका लागि बाहिर जानुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य, क्याम्पसहरुको थप व्यवस्थागर्ने उनले बताए । ‘अबको केही समयभित्र सम्पूर्ण परिवारमा विद्युत, प्रत्येक घरमा धारा, प्रत्येक वडालाई कालोपत्रे सडक, उन्नत प्रविधीको सिँचाईको सुविधा र यो क्षेत्रमा एउटा पनि घरको खरको छाना नरहने, सुरक्षित भरपर्दो आवास बनाउने गरी काम गर्छौ’ उनले भने– ‘एउटा पनि बच्चा कापिकलम किन्न नसकेर वा फि तिर्न नसकेर विद्यालय जान नपरोस भनेर नयाँ प्रकारको योजना ल्याएका छौँ ।’

त्यसैगरी रेसुङ्गा, मदाने, कँके, छाप, ईश्मा दरबार, शालिमे, मालिका, धुर्कोट लगायतका पर्यटकिय स्थलमा पर्यटन विकासका कार्यक्रम, केही ठाउँमा कृत्रिमताल, ¥याफ्टिङ्ग, कफि खेती व्यवस्थीत गर्ने, चिया, रुद्राक्ष, अलैचिलगायत कृषि र नगदेवालीको विकास गर्ने उनले बताए । ‘कल्पना गरेभन्दा राम्रा पर्यटन विकास, उत्तरगंगालाई बढीगाडमा खसालेर विद्युत उत्पादन, अहिले भएका सडकभन्दा उन्नत सडक निर्माण गर्ने योजना छ’ उनले भने ‘बुटवल पाल्पा तम्घासको सडकमा हरेक वर्ष दर्जनौँ पटक सडक अवरुद्ध र दुर्घटना हुने भएकोले बैकल्पिक मार्गका लागि छलफल गरिरहेका छौँ ।’ यसका लागि खिलराज रेग्मी, विष्णु पौडेल, टोप बहादुर रायमाझी, प्रदिप ज्ञवाली, बालकृष्ण खाँण, चन्द्र भण्डारी, दिपक बोहोरा सहित लगायको विचमा पटकपटक छलफल भई योनजा बनिरहेको बताए ।

उनले सिमीचौर विमानस्थल अवको एक वर्षभित्र पूर्ण हुनेगरी काम अगाडी बढेको र बुटवल तम्घास सडकको लागि सुरुङ्गमार्ग लगायतको भरपर्दो विकल्प दिने प्रतिवद्धता जनाए । गुल्मीको सदरमुकाम विकासका लागि कुन योजना उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरेर ठूलो योजना ल्याईने उनको भनाई छ ।

निर्माणका योजना मात्र विकास भन्ने संस्कार भएको भन्दै उनले जनताको चेतनालाई उन्नत बनाउने गरी विकासका बहुआयामिक योजना बनाउने बताए । आफू कुनै पार्टीको मात्र उम्मेदवार नभई जनताको साझा प्रतिनिधी भएको भन्दै उनले सबै जनतालाई साझा विकासका योजना ल्याईने दावी गरे ।