
काठमाडौं, १४ कात्तिक । नेपाल प्रहरीले पक्राउ गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई अदालतमा बुझाउने तयारी भएको छ ।
ओखलढुंगाका उज्ज्वनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेललाई ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
चार जना सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन् । ढुंगेल सातदोबाटोमा भूमिगत रुपमा बस्दै आएका थिए । श्रीमती र परिवारका सदस्यहरु कपनमा बसे पनि ढुंगेल सातदोबाटोमा बस्दै आएका थिए । तर, मंगलबार बिहान साँढे ११ बजेतिर डेराबाट बाहिर निस्कन खोज्दा उनी प्रहरीको फन्दामा परेका हुन् ।
पक्राउ गर्न पुगेको प्रहरीले ‘केही सोधपुछ गर्नुछ, तपाईं हाम्रो अफिसमा जानुपर्यो’ भनेपछि ढुंगेलले इन्कार गरेका थिए । ढुंगेलले बिनाविभागीय मन्त्री जनार्दन शर्मालाई फोन गर्न खोजे पनि प्रहरीले दिएन् । त्यसपछि उनलाई प्रहरीले सिधै हेडक्वार्टरमा ल्याएको थियो । ढुंगेललाई केही दिनदेखि प्रहरीले पिछा गर्दै आएको थियो ।
ढुंगेललाई पक्राउ गरेको बारेमा आधिकारिक जानकारी नदिएको प्रहरीले चुपचाप अदालतमा बुझाउने तयारी गरिरहेको छ । प्रहरीको उच्च स्रोतले दैनिक नेपाललाई भन्यो – ‘ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी करार हुँदासम्म पनि फरार भएकाले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।’
२०५५ साल असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। २०६६ सालमा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्दै ढुंगेललाई दोषी ठहर गरेको थियो।
ढुंगेललाई पक्राउ नगरेको भन्दै गत हप्ता अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि प्रहरीले सक्रियता बढाएको थियो ।
ढुंगेलको पक्राउले राजनीतिक रुपमा निकै ठूलो तरंग ल्याएको छ । ढुंगेललाई रिहा गर्न माओवादीले दबाब दिइरहेको स्रोतले बतायो ।











प्रतिक्रिया