
काठमाडौं, १४ कात्तिक् । ‘दा’ र दाजुले भरिभराउ भएको नेपाली कांग्रेसमा अचेल भाउजु शक्तिशाली बनेकी छन् । भाउजुको जयगानविना कांग्रेसमा टिकट पाउने, मन्त्री बन्नेमात्र होइन स–साना ठेक्का पनि हात लाग्दैनन् ।
अहिले शक्तिशाली बनेकी भाउजुको आशिरर्वाद पाए कांग्रेसको कल्याण हुने गरेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
सुशील कोइरालाको नेतृत्व हुन्जेलसम्म कांग्रेसमा काम पाउने र अवसर पाउने कम थिएनन् । तर, जब सभापतिमा शेरबहादुर देउवाले जिते, प्रधानमन्त्रीमा पनि निर्वाचित भए त्यसपछि भाउजुको शासन बलियो भयो । देउवापत्नी आरजु राणा देउवाको रवाफले कांग्रेसको भविष्य नै दाउमा लागेको चर्चा सुरू भएको छ ।
सरकारी काम होस्, मन्त्री नियुक्ति होस्, सभासदमा सिफारिस पर्नुपरोस् वा कुनै खास लाभका पदमा पुग्नका लागि कांग्रेसमा आरजुलाई भेटी चढाउनुपर्ने प्रवित्तिले जिल्लाका पुराना कांग्रेसहरू पनि दिक्क भएका छन् । ‘यो भाउजुप्रवित्तिले अब गलियो, कति गर्ने ? संघर्ष गरेको पार्टीलाई ठूलो बनाएको केही नदेख्ने ? जहाँ ५ प्रतिशत पाइयो त्यहाँ मात्र अवसर दिने चलन बढेको छ’, स्रोतले भन्यो,‘यतिबेला त झन समस्यामा पारिरहेकी छन् ।’
अहिले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुरलाई भन्दा पनि उनकी पत्नीका लागि समय लिएर भेट्न जानेको लर्को ठूलो छ । नहुनु पनि कसरी ? कांग्रेसमा कुनै योगदान नगरी नै आरजु पटक–पटक सांसदमा सिफारिस परेकी छन् । यस पटक पनि समानुपातिकको सबैभन्दा माथि उनकै नाम रहेको छ ।
कांग्रेसभित्र भएको ६० र ४० प्रतिशतको भागवन्डाको श्रेय पनि भाउजुलाई जाने गरेको छ । उनले त्यहि ६० प्रतिशतभित्र आफ्ना एजेन्डालाई स्थापित गर्न थालेकी छन् । ‘पैसाले कहिले पनि नपुग्ने परिवार रहेछ, टिकट लिन जाँदा पनि दिनुपर्ने, लिएर जितिसकेपछि पनि बुझाउन जानुपर्ने । कहिलेसम्म बुझाउने ?’, एकजना पुराना कांग्रेसीले भने ।
आरजुका कारण देउवा पक्षलाई जिल्ला जिल्लामा बोकेर हिँड्ने कार्यकर्ताको अहिले विचल्ली भएको छ । न अवसर पाएका छन् न त जिम्मेबारी नै । बरू, देउवाले उनीहरूलाई वास्ता गर्न नै छाडेका छन् । केही कांग्रेस कार्यकर्ताले देउवाको पत्नीमुखी स्वभावका कारणले अवसरबाट बञ्चित धेरैले कांग्रेस छाड्न लागेका छन् ।












प्रतिक्रिया