११ मंसिर २०८३, शुक्रबार

एनपी साउदले भने- रमेश लेखकसँग कुनै मतभेद छैन्, प्रतिपक्षीले भ्रम फैलाए

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वाम गठबन्धनबाट लोकतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् ।

‘कम्युनिष्ट पार्टीहरुको एकता कांग्रेस मात्र नभई प्रजातान्त्रिक शक्ति र समग्र देशका लागि नै चुनौति हो,’ सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा साउदले भने- ‘अब लोकतन्त्र जोगाउन सबै प्रजातान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ ।’

साउदले पार्टीका नेता रमेश लेखकसँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको स्पष्ट पार्दै एनपी साउद र रमेश लेखकबीच नै द्वन्द्व छ भनी प्रतिपक्षीले भ्रम फैलाएको आरोप लगाए । ‘मेरो उहाँ (रमेश लेखक)सँग प्रतिस्पर्धा नै छैन् । पार्टीमा मिलेर गइरहेका छौं,’ उनले भने– ‘यो विपक्षीहरुको असफल प्रयास मात्रै हो । हामीबीच कुनै किसिमको मतभेद छैन् ।’

आसन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेका साउदले रमेश लेखकसँगै चुनावी अभियानमा एक भएर आउने समेत स्पष्ट पारे । ‘अबको चुनावमा हामी सँगसँगै भएर आउँछौं । प्रदेश नम्बर ७ का सबै जिल्लामा हामी सँगसँगै हुनेछौं । हामीबीच द्वन्द्व छ भन्ने कुरा विपक्षीको जनता भड्काउने चाल मात्रै हो ।’

‘विकास निर्माणमा भएको खर्चको श्वेत पत्र जारी गरेर जनतामा जान्छु’

साउदले आसन्न निर्वाचन अघि आफूले सांसद विकास कोषको रकमलार्इ पारदर्शी बनाउन र जनतामा फिंजाइका भ्रमलाई अन्त्य गर्न श्वेतपत्र जारी गर्ने बताए । विभिन्न दल र तिनका उम्मेदवारले निर्वाचनको मुखमा अनेक भ्रम छर्ने भएकाले अब गफका भरमा नभएर योजनाको खाका आधारमा आफ्नो प्रतिनिधि चुन्न समेत आग्रह गरे  ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका साउँदले आफू र आफ्नो पार्टीको अगुवाइमा देशमा लोकतन्त्र संस्थागत हुने क्रमसँगै विकासका विभिन्न महत्वपूर्ण आयामहरु सुरु भएको बताए । उनले कञ्चनपुरले विकासमा क्रान्तिकारी फड्को मारेको बताए ।

आफू निर्वाचित भइसकेपछि विकासका कामहरु द्रुत गतिमा अघि बढाएको बताए । २०७० सालको संविधान सभाको निर्वाचन कञ्चनपुर क्षेत्र नम्बर दुर्इबाट निर्वाचित नेता साउँदले जनताको प्रत्यक्ष जीवनसँग जोडिएका मुद्दामा आफू जहिले पनि गम्भिर भएको बताए । ‘मलार्इ २०७० सालमा जनताले विजयी गराइसकेपछि चुनाव प्रतिबद्धता जनाएका मुद्दालार्इ ठोस रुपमा सम्बोधन गरेको छु ।’ उनले भने, ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडक, सिंचार्इ, खानेपानी, शिक्षा तथा रोजगारीका क्षेत्रमा मैले काम गरेको छु । यो सुरुवात हो अब आर्थिक समृद्धिको यात्रामा मेरो राजनीति केन्द्रित हुनेछ ।’

साउँदको अगुवाइमा मोहना सिंचार्इ परियोजना, धारापानी सिंचार्इ परियोजन, डोटी – डडेल्धुरा-कञ्चनपुर जोड्ने सडक, वाणीबाट देखतभुली हुँदै पचकडी जोड्ने सडक, झलारीको कलुवापुरदेखि बेलौरीसम्मको सडक, मालुबेलादेखि रैकवार हुँदै धनगढीसम्मको सडक, मोहना भन्सारबाट बेलौरि हुँदै दैजीसम्मको हुलाकी सडकसँगै २१ वटा सानाठूला पुलहरु निर्माण र निर्माणको चरणमा छन् । उनले केही महत्वपूर्ण सडकहरु कालोपत्रे हुने क्रममा रहेको र केही सडक, पुल तथा सिंचार्इ परियोजनाहरु सम्पन्न भइसकेको बताए ।

नेता साँउदले आफू सिंचार्इ मन्त्री हुँदा कञ्चनपु्रमा २६ वटा खानेपानी परियोजनाहरु सञ्चालन गरेको जानकारी दिए । उनले भने, ‘कञ्चनपुरका हरेक जनताको स्वच्छ र शुद्ध खानेपानीमा पहुँच स्थापित गर्न खानेपानी परियोजनाहरु अघि बढाइएको हो । जनताको सहज र सुलभ पहुँचका लागि क्षेत्र विकास कोषबाट हरेक स्थानीय तहमा एम्बुलेन्स सेवा र स्वास्थ्य चौकीको स्तरउन्नती गरिएको छ ।’ रेडक्रससँगको सहकार्यमा कतिपय गाउँलाई दिशामुक्त बनाएर स्वास्थ्य र सरसफाइमा विशेष पहल गरिएको पनि उनले बताए ।

साउँदले आरक्ष, सुकुम्बासी र बाढीपीडितको समस्या समाधान गर्ने गरी वार्ता अघि बढाइएको बताए । उनले यो सुरुवात मात्रै भएकाले अझै धेरै कामहरु अधुरा रहेकोले त्यसलार्इ आगामी दिनमा पुरा गर्दै लैजाने प्रतिबद्धता जनाए । ‘हामीले मुक्त कमैयाहरुको समस्या सम्बोधन गर्न, सिंचार्इका लागि प्रति जग्गा भोगचलन गर्नेहरुलार्इ पनि डिप ट्युवेल र स्यालो ट्‍युवेलहरु उपलब्ध गराएका छौं ।’

नेता साउँदले विद्‍युतीय लाइन विस्तार नभएका क्षेत्रमा विद्युत विस्तार गरिएको, शैक्षिक गुणस्तर वृद्धिका लागि त्यहाँका विद्यालय तथा कलेजहरुको भौतिका संरचना निर्माण र आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराए । खेलकुद, कला संस्कृति प्रबर्द्धनमा पनि आफूले विशेष पहल गरेको उनले बताए ।

दोस्रो चरणमा हुने प्रतिनिधि सभाका लागि कञ्चनपुर क्षेत्र नम्बर दुर्इबाट उम्मेदवार बनेका साउँदले कञ्चनपुरमा विकासको स्वरुप नै परिवर्तन गरेकोले त्यहाँका जनताले लामो समयदेखि नै आफूलार्इ माया गरेको उल्लेख गरे । विद्यार्थी राजनीतिदेखि आजसम्म जनताका अधिकार र लोकतन्त्रका लागि संघर्ष गरेकाले अब विकासको आयामलाई दु्रत रुपले अघि बढाउने जिम्मेवारी आफ्ना सामु आएको बताए । नेता साउँदे भने, ‘म हरेक समय आफ्ना मतदाताहरुसँग सम्पर्कमा छु । उहाँहरुका पिर मर्का र गुनासा सम्बोधन गर्न सदा तयार छु । त्यसकारण आगामी निर्वाचनमा मलार्इ नै भोट दिएर जिताउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’

कांग्रेसले छिटै घोषणापत्र जारी गर्न लागेको र त्यसमा कांग्रेसले विगतमा गरेका कामहरु र आगामी रणनीतिहरु उल्लेख गरिएको नेता साउँदले बताए ।