नवलपरासी, १२ कार्तिक । मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दलहरुले महिला उम्मेदवार न्युन उठाएको भन्दै आलोचना भईरहेका बेला नवलपरासीका बासिन्दाले निवर्तमान सांसद सिन्धु जलेसालाई प्रत्यक्ष तर्फ टिकट दिन माग गरेका छन् ।
जलेसा यसअघि नेकपा एमालेबाट समानुपातिक सांसद रहनुभएको थियो । अहिले नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क बाट एमालेबाट प्रत्यक्ष तर्फका लागि सिफारिस हुनुभएको छ । सो क्षेत्रमा जलेसा सहित दिपेन्द्र अधिकारी, बृहस्पति अधिकारी, रुक्मागत ज्ञवाली लगायतको नेताहरुको पनि नाम सिफारिस छ । यस क्षेत्रका नागरिकले भने महिलालाई टिकट दिन माग गरेका छन । महिलाको प्रतिनिधत्व बढाउनुपर्छ भनेर आवाज उठाउदैँ आएको नेकपा एमालेले अहिलेको चुनावमा महिलालाई टिकट नै नदिएको भन्दै आलोचना भईरहेको सन्दर्भमा निवर्तमान सांसद समेत रहेकी सिन्धु जलेसालाई पार्टीले टिकट दिनुपर्ने एमाले जिल्ला सदस्य शेरबहादुर आचार्यले बताउनुभयो ।
जलेसा प्रदेश नं ५ भरिनै प्रत्यक्षमा सिफारिस हुने एक मात्र महिला हुनुहुन्छ । यसर्थ पनि जलेसालाई नै टिकट दिनुपर्ने दवाव स्थानीय स्तरमा रहेको छ । समानुपातिक बाट सांसद रहदाँ पनि उहाँले यस क्षेत्रमा प्रत्यक्ष सांसदले भन्दा धेरै विकास निर्माण, महिला सशक्तिकरण लगायतका काम गरेकाले यस क्षेत्रका नागरिकले पनि जलेसालाई मन पराएका छन ।
पार्टीले अन्य क्षेत्रबाट महिलालाई स्थान नदिएरहेका बेला यस क्षेत्रबाट महिलालाई टिकट दिदाँ राष्ट्रिय स्तरमै सन्देश पनि राम्रो जाने भएकोले नेतृत्वतहले यसबारेमा ध्यान दिन जरुरी रहेको स्थानीय मतदाताको भनाई छ।













प्रतिक्रिया