सप्तरी, १२ कात्तिक । शनिवार बिहान धादिङको गजुरी गाउँपालिकास्थित त्रिशुली नदीमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख १४६७ नम्बरको यात्रुबाहक बस त्रिशूलीमा खस्दा मृत्यु हुनेमा अधिकांश सप्तरीकै भएकाले दिनभरि सिङ्गो जिल्ला शोकमग्न रह्यो ।
सप्तरी प्रहरीका अनुसार सनाखत भएका ३१ जना मध्ये २४ जना सप्तरीकै रहेका छन् । यस्तै सप्तरीकै दुई जना वेपत्तासमेत छन् । मृत्यु हुनेमा अधिकांश एकै परिवारका छन् । बस दुर्घटनामा परी मृत्यु हुनेहरु मध्ये १२ जना पुरुष, ७ महिला, ६ बालक र ६ बालिका रहेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तिलाठीका पण्डित रमानाथ झाले उक्त दुर्घटनामा आफ्ना दुई छोरा, एक बुहारी, दुई नातीसहित परिवारका ८ जनालाई गुमाए । तिहार–छठ सकेर घरबाट काठमाडौँ जाने क्रममा पण्डित झाका ३८ वर्षीय जेठो छोरा संजित, ३५ वर्षीया बुहारी सिमी, नातिहरु १० वर्षीय अभिनव र ४ वर्षीय प्रतिक, ३३ वर्षिय कान्छो छोरा अंजितको उक्त दुर्घटनामा मृत्यु भएको हो ।
जेठो छोरा सन्जितकी २२ वर्षीया साली पूजा, १९ वर्षीय सालो आदित्य र ७४ वर्षिया जेठी सासु चन्द्रवाती झाको पनि सोही दुर्घटनमा निधन भएको हो । यी मध्ये पूजा र प्रतिकको शव अझ फेला पर्न सकेको छैन । सन्जित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौँ तहमा कार्यरत रहेको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले बताए ।
एकै परिवारका चार छाेरी पनि गुमे
यस्तै बोदेबर्साइन नगरपालिका ३ फुलहार निवासी चतुरनारायण प्रमाणीले पनि सोही दुर्घटनामा आफ्नी चार छोरी गुमाइन् । पेशाले शिक्षक रहेका प्रमाणी लामो समयदेखि काभ्रेपलाञ्चौकमा बस्दै आएका हुन् ।
आफू र श्रीमती मोटरसाईकलमा आउने भएकाले प्रमाणीले शुक्रवार नातामा आफ्न्त पर्ने महदेवा गाउँपालिका ९ का प्रमोद इसरसँग चारै छोरीलाई काठमाडौँ पठाएका थिए । तर, इसरसँगै प्रमाणीकी चार छोरी चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखा प्रमाणीको सोही बस दुर्घटनामा मृत्यु भयो ।
यसैगरी, कृष्णश्रवरण गाउँपालिका ४ का योगेन्द्र यादवले पनि सोही दुर्घटनामा २९ वर्षीया श्रीमती सुधिरा र ५ वर्षीया छोरी समिक्षलाई गुमाइन् । बोदेबर्साइन नगरपालिका आदित्य यादव, आशिकिकुमारी यादव, समिक्षाकुमारी यादव र मानवी यादव पनि एकै परिवारको रहेको हुन् । यसरी शनिवार बिहान भएको दुर्घटनामा परि मृत्यु भएकामध्ये सप्तरीका अधिकांश व्यक्तिहरु एकै परिवारका हुन् । भारत घर भएकी ३९ वर्षिया ममतादेवी ठाकुरको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर आउनसाथ तिलाठी, फुलहारा, बर्साइनसहितका ठाउँहरुमा रुवाबासी चलेको छ । मृतका परिवारहरुमा चुल्हो बल्न सकेको छैन भने एकै परिवारका ८ जनाको मृत्यु हुने तिलाठीका सन्जित झाका आमा अर्धमुर्छित भइरहेकी छिन् ।
यता दुर्घटनामा परी राजविराज नगरपालिका १५ देउरी भरुवाका सहचालक नरेश मुखियाको मृत्यु भएको खबर आएपनि चालक भने भागेको घाइतेहरुले बताएका छन् । राजविराजबाट खुलेको सन्देश बस हेटौडामा बिग्रेपछि काठमाडौँबाट आउँदै गरेको सोही कम्पनीको अर्को बसमा यात्रु साटासाट गरी त्यहाँबाट दुवै बस पुनः फर्केका थिए ।
तर, काठमाडौँबाट आएका बस हेटौंडामा राजविराजका यात्रु लिनुकोसाथै अगाडी गएर केही यात्रुलाई माथिसमेत बसाएकाले अनियन्त्रित भई त्रिशुलीमा खसेको हो ।
मृतकहरुको सनाखत हुने काम र पोष्टमार्टम जारी रहेकाले आईतवार मात्रै धादिङबाट शव सप्तरी ल्याउन सकिने त्यहाँबाट तिलाठी निवासी सिमारक्षक आन्दोलनका अगुवा देवनारायण यादवले बताए ।
यसैबीच, उक्त दुर्घटनाले गर्दा सप्तरीमा धेरै मानवीय क्षति भएकोले सिङ्गो सप्तरी शोकमग्न भएकोले आईतवार सप्तरीका सबै ९ वटै नगरपालिका र ९ वटै गाउँपालिकाहरु बन्द गर्ने निर्णय समेत भएको छ ।
घाइते १६ जना मध्ये राजविराज ९ का दुर्गानन्द चौधरी र अभिषेश चौधरीलाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको र अन्यको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा तीनै वटा सुरक्षा निकायको टोली उद्धार कार्यमा खटिएको छ ।












प्रतिक्रिया