
काठमाडौं, ११ कात्तिक । दोस्रो चरणको निर्वाचनका लागि एमाले र माओवादीबीच सिट बाँडफाँटलाई लिएर किचलो देखिएको छ । माओवादीले धेरै सिट मागेपछि किचलो भएको बताइएको छ ।
दोस्रो चरणको १२८ निर्वाचन क्षेत्रको बाँडफाँटका लागि भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा बसेको कार्यदलको बैठकले दिनभरि सहमति जुटाउन सकेन ।
१२८ मध्ये १०७ निर्वाचन क्षेत्रको टुंगो लागिसकेको बताइएको छ । त्यसमध्ये एमालेलाई ७२ र माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको स्रोतले बतायो । तर, बाँकी २१ सिटमा दुवै पार्टीले दाबी नछाडेपछि बैठक निस्कर्षमा पुग्न सकेको छैन् ।
विवादित जिल्ला
खासगरि, झापा, मोरङ, सुनसरी, चितवन, कास्की, बारा, उदयपुरलगायतका जिल्लामा समस्या देखिएको छ ।
स्थानीय चुनावमा राम्रो परिणाम ल्याएका धनकुटा, इलाम, तेह्रथुमलगायत जिल्लाबाट प्रतिनिधिसभामा एमालेका मात्र उम्मेदवार हुने भएका छन् । चितवनमा एमाले र माओवादीले १/१ सिटमा टुंगो लगाएका छन् । बाँकी १ सिटमा छलफल जारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवन–३ बाट उठ्ने छन् । काठमाडौंका १० सिटमा एमालेले ७ र माओवादीले ३ सिट लिने बताइएको छ ।
तीन पटक बैठक स्थगित
निर्वाचन क्षेत्रका विषयमा कार्यदलमा सहमति हुन नसक्दा एमाले स्थायी समिति बैठक शनिबार तीनपटकसम्म स्थगित भएको छ । शनिबार बिहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजे बोलाइएको थियो । साँझ ५ बजेको बैठक फेरि ७ बजेलाई सर्यो । तर, सात बजेका लागि बोलाइएको बैठक पनि राति ८ बजेसम्म अनिश्चित बनेको थियो । बैठकको पर्खाइमा बसेका नेताहरु आजित भएका छन् ।











प्रतिक्रिया