झापा, ११ कात्तिक । झापाको विर्तामोडमा शुक्रबार भएको हिंसात्मक घटनापछि त्यहाँका डीएसपी राजकुमार सिलवाल जिल्ला तानिएका छन् । उनको ठाउँमा डीएसपी जितेन्द्र बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनी प्रमुखको जिम्मेवारी दिइएको छ ।
दशैंको दिन वेपत्ता भएका अर्जुनधारा– ११ का ११ बर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या प्रकरणमा चित्तबुझ्दो अनुसन्धान नगरेको र दोषीलाई पक्राउ नगरेको भन्दै आक्रोशित स्थानीयवासीले शुक्रबार विर्तामोडमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि लगाइएको कर्फ्युमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएपछि शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै डीएसपी सिलवालमाथि माथिल्लो निकायले एक्सन लिएको हो ।
स्थानीयले भने डिएसपी सिलवालको भूमिका ठिक नभएको भन्दै उनलाई हटाउनुपर्ने माग प्रशासनसंग राखेका थिए । गृहमन्त्रालयले घटनाको विषयमा थप छानबिन गर्न गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति गठन गरेको छ ।
बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने करिब ४० जना बढी घाइते भएका छन् । बिर्तामोडमा शनिवार पनि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ ।












प्रतिक्रिया