काठमाडौं, ११ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँलाई प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेपछि माओवादी केन्द्र मोरङभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
प्रचण्डका ज्वाइँ जीवन आचार्यको राजनीतिक योगदान र संलग्नतामाथि प्रश्न उठाउँदै कार्यकर्ताहरूले आचार्यले टिकट पाएमा बागी उम्मेदवार बन्नेसम्मको सार्वजनिक घोषणा गरेका छन् ।
आचार्यलाई मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको प्रदेश ‘क’–मा प्रत्यक्षतर्फको उम्मेदवारमा माओवादीको मोरङ जिल्ला कमिटीले सिफारिस गरेको हो ।
जिल्ला कमिटीले आचार्यको मात्र नाम सिफारिस गरेपछि अन्य कार्यकर्ताले आक्रोश जनाएका हुन् । टिकटका लागि मोरङबाट सिफारिस गर्न प्रचण्ड र उनकी पत्नी सीता दाहालले ठूलो दवाव दिएको स्रोतको भनाइ छ ।
प्रचण्डकी छोरी रेणु दाहाल यसअघि भरतपुर महानगरपालिकाको प्रमुखमा टिकट पाएर विजयी भएकी छिन् । प्रचण्डपुत्र प्रकाशकी पत्नी बिना मगरले २०७० को संविधानसभाको निर्वाचनमा कञ्चनपुरबाट टिकट पाएकी थिइन् । बिना अहिले पनि टिकट लिने तयारीमा छिन् ।
माओवादी केन्द्रका मोरङ जिल्ला सदस्य विनोद घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यविरूद्ध स्वतन्त्र उम्मेदवारी दिनेसमेत बताएका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ मा स्थायी बसोबास भएका आचार्यसित प्रचण्डकी कान्छी छोरीले दोस्रो विवाह गरेकी हुन् ।
कान्छी छोरीको विवाह यसअघि भारतको पश्चिमबङ्गाल राज्यस्थित सिलिगुडी शहरका नारायण प्रधानसित भएको थियो ।
चार वर्षअघि सम्बन्ध विच्छेद गरेकी उनले विरागनगरका जीवनसित दोस्रो विवाह गरेकी हुन् । आचार्य केही समय यता कम्प्युटरको व्यवसायमा छन् ।











प्रतिक्रिया