विर्तामोड, १० कात्तिक । झापाको विर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै बिहानैदेखि प्रदर्शनमा उत्रिएका स्थानीयले प्रशासनले दिउँसो लगाएको कर्फ्यु उल्लंघन गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर अर्जुनधारा १ का नरेश थापा र बिर्तामोडका देवकुमार चौधरीको मृत्यु भएको हो ।
चौधरीकी आमा शर्मिलाले देवकुमारको पहिचान गरेको जनाइएको छ । यद्यपी तस्वीर हेरेर पहिचान गरिएका कारण नाम फरक पर्नसक्ने बताइएको छ । अन्य दर्जनभन्दा बढी घाइते भएका छन ।
बी एण्ड सी अस्पतालमा उपचारार्थ भर्ना गरिएका ४ जनाको उपचार भइरहेको र त्यहाँ कुनै प्रदर्शनकारीको अहिलेसम्म मृत्यु नभएको जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।
स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि कफ्र्यू घोषणा गरेपनि बजारमा भेला भएका र विभिन्न ठाउँमा पुग्ने हतारोमा रहेका यात्रुहरुले समय नपाएका कारण मृत्यु भएकाहरु पैदल यात्रुहरु पनि हुनसक्ने अनुमान गरिएको छ ।
उता शसस्त्र प्रहरीका एसपी रमेश सुवेदी टाउकोमा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले लागेर घाइते भएका छन ।
लक्ष्मण सिवाकोटी हत्या प्रकरणमा प्रहरीले वास्तविक दोषी पत्ता लगाउनुको साटो जाहेरी नै नलिएपछि उत्पन्न विवादका कारण हिंसा भड्किएको बताइएको छ ।
असोज १४ गते घरबाट खेल्न भनेर निस्किएका बालक शिवाकोटी बेपत्ता भएका थिए । त्यसको २४ घण्टा नवित्दै उनको शव स्थानीय खोलामा भेटिएको थियो ।












प्रतिक्रिया