विर्तामोड, १० कात्तिक । झापाको विर्तामोड भड्किएको हिंसामा विर्तामोडमा मेयर धुव्र शिवाकोटी निशानामा परेका छन् । उनको गाडी तोडफोडका साथै घरमा समेत ढुंगामुडा भएको छ ।
अर्जुनधारा नगरपालिका– ११ का बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई बचाउन स्थानीय जनप्रतिनिधिको समेत मिलेमतो रहेको भन्दै प्रदर्शनकारीले शिवाकोटी चढ्ने नगरपालिकाको मे १ झ १२१ नम्बरको गाडी र बा १० च ३०६१ नम्बरको निजी गाडीमा तोडफोड गरेका हुन् ।
साथै शिवाकोटीका छोराको मे ७ प ३००० नम्बरको बुलेट मोटरसाइकल जलाइदिएका छन् । आन्दोलनकारीले उनको घरमा समेत आक्रमण गरेको मेयर शिवाकोटीले बताए ।
आन्दोलनकारीले मेयरसँगै ट्राफिक प्रहरीको भवन समेत तोडफोड गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।
असोज १४ गते घरबाट खेल्न निस्किएका बालक शिवाकोटी बेपत्ता भएका थिए । त्यसको २४ घण्टापछि नवित्दै बालकको शव स्थानीय खोलामा भेटिएको थियो । प्रहरीले महिना दिन वित्न लाग्दा समेत घटनाको चित्तबुझ्दो अनुसन्धान नगरेको र जनप्रतिनिधिको समेत मिलेमतो रहेको पीडित पक्षको आरोप छ ।















प्रतिक्रिया