विर्तामोड, १० कात्तिक । झापाको विर्तामोडमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ । र, स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी झडपमा परी अर्जुनधारा १ का ३० बर्षिय नरेश थापाको मृत्यु भएको झापाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ज्ञानबहादुर विष्टले जानकारी दिए । उनका अनुसार झडपमा परी ७ जना घाइते भएका छन् ।
घटनालगत्तै स्थानीय प्रशासनले विर्तामोडमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । झापा अर्जुधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीय विहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको र कर्फ्यु लगाइएको बुझिएको छ ।
जिल्ला प्रशासन कार्यालयले अर्काे आदेश नभएसम्म मुक्तिचोकलाई केन्द्र मानी पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
असोज १४ गते घरबाट खेल्न निस्किएका बालक शिवाकोटीको २४ घण्टा नवित्दै स्थानीय खोलामा शव भेटिएको थियो । प्रहरीले महिना दिन वित्न लाग्दा समेत घटनाको चित्तबुझ्दो अनुसन्धान नगरेको र जनप्रतिनिधिको समेत मिलेमतो रहेको पीडित पक्षको आरोप छ ।












प्रतिक्रिया