
काठमाडौँ, १० कात्तिक । दीपक ‘मनाङे’लाई एमालेले आधिकारिक उम्मेदवार बनाएको भनी चर्चा भइरहेको बेला नेकपा एमालेका केन्द्रीय नेताले त्यसप्रति आपत्ति जनाएका छन् ।
नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ४ का प्रमुख किरण गुरुङले दीपक मनाङे (राजीव गुरुङ) आफ्नो पार्टीको आधिकारिक उम्मेदवार नभएको बताएका हुन् । बिभिन्न संचारमाध्यमले एमालेलाई बदनाम गर्ने हिसाबले अनावश्यक चर्चा गरिरहेको भन्दै गुरुङले हल्लाको पछि नलाग्न आग्रह पनि गरेका छन् ।
‘चार नम्बर प्रदेशको म पार्टीको प्रमुख हो । तर, मैले दीपक मनाङेलाई आजसम्म भेटेको पनि छैन् । उनको नाम राजीव गुरुङ भन्ने पनि मैले पत्रपत्रिकाबाट नै थाहा पाएँ ।’, एमालेका प्रदेश प्रमुख गुरुङले दैनिक नेपालसँग भने – ‘दीपक मनाङे एमालेमा प्रवेश गरेको बारे हामीलाई जानकारी छैन् । काठमाडौँमा मनाङबासीको पारिवारिक भेटमा उनले एमालेलाई सघाउने भनेको सम्म थाहा छ ।’
प्रदेश प्रमुख गुरुङले थप स्पष्ट पारे– ‘अन्य निर्वाचनको क्षेत्रको जस्तो अबस्था मनाङमा छैन् । जसको आफन्त धेरै छ अनि जसले जति मतदाता काठमाडौँबाट लैजान सक्यो उसैले चुनाव जित्छ, त्यसैले नजित्ने अबस्था देखेर नै हाम्रो उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएको खबर पाएको छु । दीपक मनाङे हाम्रा आधिकारिक उम्मेदवार होइनन् । उनलाई हामीले टिकट दिएको पनि होइन् । उनी आफैले पनि स्वतन्त्र उम्मेदवार हुँ भनेका छन् ।’
एमालेको झण्डा लिएरै लडे पनि उनलाई स्वीकार गर्ने/नगर्ने बारे पार्टीमा छलफल नभएको गुरुङले प्रष्ट पारे । देशभर एमालेको बलियो अबस्था देखेर विरोधीहरुले अनावश्यक हल्ला फैलाएको भन्दै गुरुङले अनर्गल प्रचारको पछि नलाग्न आममतदाता र कार्यकर्तालाई आग्रह गरे ।











प्रतिक्रिया