
काठमाडौँ, १० कात्तिक । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले सरकारले चुनाव सारे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
काठमाडौँमा नेकपा एमाले र माओवादी केन्द्रको लमजुङ– काठमाडौँ सम्पर्क मञ्चले गरेको संयुक्त कार्यक्रममा एमाले सचिव गुरुङले वर्तमान सरकारले चुनाव सार्ने षडयन्त्र गरिरहेको बताउँदै चुनाव सारे कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकारले चुनाव सार्ने षडयन्त्र गरिरहेको सूचना प्राप्त भइरहेको छ, यदि त्यसो भए पनि हामी सडक, संवैधानिक र हरेक हिसाबले प्रतिकार गर्न तयार छौँ’- उनले भने ।

एमालेबाट प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको दाबेदार समेत रहेका गुरुङले देशको समृद्धि र संविधान कार्यान्वयनका लागि वाम गठबन्धन बनेको बताए । उनले वाम गठबन्धनलाई जिताउन अपिल पनि गरे ।
यसैगरी, माओवादी केन्द्रका स्थायी समितिका सदस्य एवं लमजुङका प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले वाम गठबन्धनले देशभर जित्ने विश्वास व्यक्त गरे । उनले चुनाव सार्ने षडयन्त्र नगर्न पनि चेतावनी दिए ।
एमाले लमजुङका अध्यक्ष एवं लमजुङ ‘क’ का प्रदेश सभा उम्मेदवार धनञ्जय दवाडीले वाम गठबन्धनको जित सुनिश्चित रहेको बताए । लमजुङमा पृथ्वी सुब्बा गुरुङ र देव गुरुङको जित सुनिश्चित रहेको भन्दै दवाडीले आफू पनि जित्नेमा विश्वस्त रहेको बताए ।
बाम गठबन्धनले लमजुङमा संयुक्त कार्यक्रमहरुलाई तीव्रता दिएको छ ।











प्रतिक्रिया