
काठमाडौं, १० कात्तिक । श्रम मन्त्री एवम् नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले कम्युनिष्टहरूले संसद व्युताउन चुनौती दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री मन्सुरले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार बहुमतमा रहेको बताए । ‘कम्युनिष्ट पार्टीहरूले संसद व्युताउँछन् भने व्युताउन् । सरकार अहिले पनि बहुमतमा छ’, उनले भने, ‘कांग्रेसले चिन्ता गर्नुपर्ने अवस्था छैन ।’
मन्त्री मन्सुरले भने, ‘संसद व्युतियो भने पनि उनीहरू सत्तामा आउन सक्ने छैनन् । सडकमै रहने छन् ।’ कांग्रेसका नेता समेत रहेका मन्सुरले कम्युनिष्ट पार्टीहरूले हुदै नभएका आरोपहरू लगाएर जनतामा भ्रम छर्ने काम मात्रै गरिरहेको बताए ।
सरकार तोकिएको समयमा निर्वाचन गर्ने तयारीका साथ निर्वाचन आयोगलाई सहयोग गरिरहेको बताएका मन्त्री मन्सुरले भने, ‘चुनावबाट कांग्रेस कुनै पनि हालतमा ब्याक हुँदैन । बरु एमाले–माओवादी डराएका छन् । जनतालाई भ्रम छरेर कम्युनिष्ट अधिनायकवाद ल्याउने तयारी गरेका छन् । यो अधिनायकवादी व्यवस्था ल्याउन उनीहरूको चाहना पूरा हुन दिँदैनौँ ।’
सरकारले त निर्वाचन सार्न लागेको छ रे नि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यही भनेका छन् कुरा के हो ? भन्ने प्रश्नको जवाफमा मन्त्री मन्सुरले भने, ‘सरकारको बारेमा प्रचण्ड र केपी ओलीलाई कसरी थाहा हुन्छ ? तोकिएको मितिमा निर्वाचन हुन्छ । निर्वाचन त बरु एमाले र माओवादीले चाहेका छैनन् । उनीहरूको गतिविधिले त्यही देखाएको छ । मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजेका छन् ,’
कम्युनिष्टहरूले झुठ मात्रै बोल्ने गरेको भन्दै मन्सुरले भने, ‘केपी ओली र प्रचण्डको झुठ कुरामा लाग्नु हुँदैन । उनीहरूले अर्नगल कुरा गरेर जनतालाई भ्रममा पारेका छन् ।’
माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन नसर्ने बताए । उनले भने, ‘निर्वाचन सर्नु हुँदैन । यदि सरिहाल्यो भने पनि कति समयका लागि हो भन्ने कुरामा भर पर्छ । थोरे समयका लागि हो भने त्यसमा छलफल हुन सक्छ । तर, लामो समय निर्वाचन सार्ने हो भने त्यो सैह्य छैन । त्यस्ता अस्थिरता ल्याउने प्रयास भयो भने यो सरकार रहिरन्छ भन्ने छैन । अर्को पनि आउन सक्छ ।’
एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन सार्ने वा स्थगित गर्ने काम भयो भने संसदको व्युतिने दाबी गरे । उनले भने, ‘निर्वाचन सार्ने हो भने संसद व्युतिन्छ । संसद विघठन भएको छैन । स्थगित मात्रै भएको हो ।’











प्रतिक्रिया