काठमाडौं, ९ कात्तिक । पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोग नेपाल सरकारलाई प्रदान गरेको छ ।
विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले उक्त सहयोग रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे । सहयोगका लागि प्रधानमन्त्री देउवाले पाकिस्तानी सरकार जनतालाई धन्यवाद दिएका थिए ।
त्यसक्रममा पाकिस्तानी राजदूत जावेदले दुई देशका सरकार र जनताका बीच सुमधुर र मैत्री सम्बन्ध रहेको र जस्तोसुकै कठिनाइको अवस्थामा पनि एकापसमा सहयोग र सदभाव रहिरहने प्रतिबद्धता जनाएका थिए ।
यसअघि काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावासले असोज २६ गते विज्ञप्तिमार्फत पाकिस्तान सरकारका तर्फबाट बाढीपीडितको सहयोगका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको थियो ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवासँग पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा अमेरिकामा भेटवार्ता हुँदा बाढीबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका थिए ।












प्रतिक्रिया